काठमाडौं महानगरले गणेश नेपालीका परिवारलाई रोजगारी दिने
२६ असार, काठमाडौँ । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि काठमाडौं महानगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई मानवीय सहयोग, रोजगारी तथा उनका सन्ततिलाई निःशुल्क शिक्षा उपलब्ध गराउने घोषणा गरेको छ।
महानगरपालिकाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा गणेश नेपालीको निधनप्रति स्तब्ध भएको जनाउँदै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। महानगरले नेपाल सरकार, गृह मन्त्रालयले घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको उल्लेख गर्दै उक्त समितिलाई तथ्यगत अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

विज्ञप्तिमा छानबिनबाट प्राप्त निष्कर्ष र सुझावका आधारमा आवश्यक सुधारात्मक तथा जिम्मेवारीपूर्ण कदम चालिने उल्लेख गरिएको छ। साथै नेपाल सरकारसँग समन्वय र सहकार्य गर्दै यस्ता घटना दोहोरिन नदिन आवश्यक उपाय पहिचान गरी असल अभ्यास विकास र कार्यान्वयनमा लैजान महानगर तयार रहेको जनाएको छ।
महानगरले यस संवेदनशील अवस्थामा सबैलाई संयमित रहन र धैर्य धारण गर्न आग्रह पनि गरेको छ। प्रवक्ता नवीन मानन्धरका अनुसार दिवंगत गणेश नेपालीका परिवारलाई काठमाडौं महानगरपालिकाको तर्फबाट मानवीय सहयोग उपलब्ध गराउने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने तथा उनका सन्ततिलाई निःशुल्क शिक्षा प्रदान गर्ने विषयमा महानगर कार्यपालिका बैठकबाट विधिसम्मत निर्णय गरिनेछ।

प्रकाशित मिति : July 10, 2026 at 11:37 pm





