१९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026

बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन १० वटा वडाबाट स्रोतमै फोहर वर्गीकरण

१९ असार, काठमाडौं । काठमाडौँ महानगरपालिकाले  बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन १० वटा वडाबाट वर्गीकरण गरिएको फोहर व्यवस्थापन सुरु गरेको छ ।
वर्गीकरण गरी फोहर लैजाने वडामा क्रमशः १२, १८, १९, २०, २१, २२, २३, २४, २५ र २७ गरी १० रहेका छन् । वातावरण विभाग प्रमुख सरिता राईले सुक्खा फोहर मटेरियल रिकभरी फ्यासिलिटीमार्फत क्षेत्र नं. ७ बाट दैनिकरुपमा  वर्गीकरण गरिएको फोहर व्यवस्थापन कार्य सुरु गरिएको बताइन् ।

प्रमुख राईले भनिन्, “सहरभित्रको फोहर स्रोतमा वर्गीकरण, ढुवानी, अन्तिम व्यवस्थापनको मात्रा घटाउनकै लागि कामपाले वर्गीकरण गरिएको फोहर व्यवस्थापन गर्न थालेको छ ।”  घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्री गर्न आफ्नो भौगोलिक क्षेत्रलाई सात क्षेत्रमा वर्गीकरण गरेर फोहर व्यवस्थापनको वैज्ञानिक विधि थालनी गरेको छ ।

dainiki.com

घरेलु फोहरलाई व्यवस्थित विसर्जन गर्न ३२ वटा वडालाई ७ क्षेत्रमा विभाजन गरिएको छ । हरेक क्षेत्रमा एक/एक वटा फोहरमैला स्थानान्तरण केन्द्र राखेर सुक्खा फोहर व्यवस्थापनका लागि मेटेरियल रिकभरी सुविधा सञ्चालन गर्ने लक्ष्य कामपाको छ । फोहरमैला वर्गीकरणबाट मात्रा न्यूनीकरण गर्न, पुनःप्रयोग, पुनःचक्रीय प्रयोग र विसर्जन कार्यलाई क्षेत्रगत आधार व्यवस्थापन गर्न फोहरमैला सङ्कलन र ढुवानीसम्बन्धी कार्यविधि २०८१ जारी गरी कार्यान्वयनमा ल्याइएको छ ।

सार्वजनिक निजी साझेदारी वा निजी क्षेत्रसँग सेवा खरिद गरेर वा आय ठेक्काको प्रक्रियाबाट समुदायमा भएको फोहरमैला सङ्कलन, ढुवानी गर्न कार्यविधि जारी गरिएको हो । कामपाको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईका अनुसार बञ्चरेडाँडाको आयु बढाउनका लागि कामपाले स्रोतमा फोहरको वर्गीकरण र व्यवस्थापनको कार्य थालनी गरेको हो ।  हालकामपाबाट दैनिक १५ ट्रक फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । यसअघि वर्गीकरणविना फोहर लैजाँदा कामपाबाट दैनिक २० ट्रक जाने गरेको थियो ।

प्रकाशित मिति : July 3, 2026 at 5:34 pm