१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख

१५ असार, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सांसदका काम, व्यवहार र शैलीको मतदाता र जनताले विभिन्न माध्यमबाट नियालिरहेका उल्लेख गर्दै सबै सांसद आफ्नो कामप्रति थप जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदहरुका लागि आज आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा उनले कानुन निर्माणमा जनप्रतिनिधिले विगतका राम्रा अभ्यासबाट सिक्न र अध्ययनशील र प्रविधिमैत्री हुनुपर्ने सुझाव दिए।

dainiki.com

“अहिले प्रतिनिधिसभामा धेरै नयाँअनुसार हुनुहुन्छ, संसदीय विधि र प्रक्रियालाई थप बुझाउन तथा सांसदका काम अझ प्रभावकारी बनाउन यो कार्यक्रम आयोजना गरिएको हो,” सभामुख अर्यालले भने, “संसदीय प्रक्रिया र विधिमा अब्बल बन्नका लागि यो सिकाइ उपलब्धिमूलक हुने विश्वास लिएको छु ।” जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजीबाट सार्वजनिक जीवनमा प्रवेश गर्ने भएकाले सोही अनुसार जिम्मेवार बन्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले स्वागत गर्दै सांसदहरुलाई संसदीय प्रक्रिया र विधिका बारेमा थप जानकारी दिने उद्देश्यले सचिवालयले संसदीय प्रक्रिया र अभ्याससम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बताए ।

सचिवालयले सांसदहरुलाई संसदीय प्रक्रिया र विधिका बारेमा जानकारी दिने उद्देश्यले सिंहदरबारस्थित संसद् भवन परिसरमा सोमबार र मङ्गलबार उक्त अभिमुखीकरण कार्यक्रम अयोजना गरेको हो ।

प्रकाशित मिति : June 29, 2026 at 12:49 pm