७ असार २०८३, आइतबार | Sun Jun 21 2026

पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया

७ असार, धरान । ‘गर्मीको बेला यहाँ आउँदा निकै रमाइलो हुन्छ । यहाँ रुखका शीतल छहारीहरू छन्, त्यसमाथि बोटिङ गर्न पाएपछि त आनन्द नै बेग्लै हुन्छ,’ मोरङको पथरीबाट घुम्न आएका विकास खड्काले भने । तालतलैयाको शीतल वातावरण र बोटिङ सुविधा भएकाले गर्मी छल्न साथीभाइसहित यहाँ आएको उनले बताए ।

पूर्वी तराईमा गर्मी बढेसँगै सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा अवस्थित पर्यटकीयस्थल ‘तालतलैया’ यतिबेला शीतलता खोज्ने पर्यटकको मुख्य रोजाइ बन्न थालेको छ । करिब साढे २१ हेक्टर क्षेत्रफलमा फैलिएको हरियाली र जलाशययुक्त यो क्षेत्र यतिबेला गर्मी छल्न आउनेहरूको आकर्षक केन्द्रका रूपमा विकास भएको छ ।

तालतलैया व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर रायमाझीका अनुसार गर्मी मौसम सुरु भएसँगै यहाँ आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । सामान्य दिनमा दैनिक पाँच सयभन्दा बढी पर्यटक घुमघामका लागि आउने गरेकामा अहिले दैनिक रूपमा २५ सयभन्दा बढी पर्यटक गर्मी छल्न आउने गरेको उनले बताए ।

यहाँ आउने पर्यटकमध्ये करिब ४० प्रतिशत पर्यटक सीमावर्ती भारतीय सहरहरूबाट आउने गरेका छन् । अत्यधिक गर्मी बढेपछि अहिले सिरहा र सप्तरीको तराई क्षेत्रबाट बढी पर्यटक आउने गरेको अध्यक्ष रायमाझीले बताए ।

गर्मीबाट राहत पाउनका लागि पर्यटकहरू यहाँ रहेका पोखरी र बोटिङतर्फ बढी आकर्षित हुने गरेका छन् । तालतलैयाभित्र छवटा पोखरी रहेका छन्, जसमा पर्यटकको मनोरञ्जनका लागि समितिले दुईवटा मोटरबोट सञ्चालनमा ल्याएको छ । जहाँ शीतल हावा खाँदै जलयात्रा गर्न पाइन्छ ।

dainiki.com

मोरङको कानेपोखरीबाट साथीहरूसहित घुम्न आएकटी अर्का पर्यटक रविना थापा भन्छिन्, ‘यहाँको फराकिलो खुला क्षेत्र, बोटिङ, आकर्षक फोटो स्पट, चिडियाखाना र छहारीयुक्त फूलबारीले गर्दा गर्मी र छुट्टीको समय बिताउन हामी यहाँ आउने गर्छौँ । प्रायःजसो गर्मी छल्न हामी भेडेटार जाने गरेका थियौँ, तर यहाँ बोटिङ गर्न पाइने भएपछि यतै घुम्ने सोच गरेर आएका हौँ ।’

गर्मीमा शीतल छहारी खोज्दै आउने पर्यटकका लागि तालतलैयाभित्र दर्जनौँ चौतारा, बगैँचा र नर्सरी निर्माण गरिएका छन् । यसबाहेक यहाँको मुख्य आकर्षण चिडियाखाना पनि हो, जहाँ दुम्सी, मयुर, गिद्ध, चित्तल, हाँस, घोडा र बाँदरजस्ता वन्यजन्तु अवलोकन गर्न पाइन्छ । बालबालिकाका लागि चिल्ड्रेन पार्क र वाटर फाउन्टेन (पानीको फोहोरा) समेत रहेकाले विद्यालय बिदाका दिन अभिभावकहरूले छोराछोरीलाई शीतल वातावरणमा खेलाउन यहाँ ल्याउने गरेका छन् ।

आर्थिक वर्ष २०८१-८२ मा सहरी विकास मन्त्रालयबाट विनियोजन भएको रु ८५ लाखको बजेटबाट यहाँ थप पर्यटकमैत्री संरचना, आधुनिक शौचालय र चिडियाखानाको स्तरोन्नति गरिएको व्यवस्थापन समितिले जनाएको छ । तालतलैयामा पर्यटकको चहलपहल बढेसँगै स्थानीय साना व्यवसायी उत्साहित छन् ।

स्थानीय व्यापारी इन्दु राणा भन्छन्, ‘गर्मी बढेसँगै घुम्न आउने पर्यटकको सङ्ख्या निकै बढेको छ, जसले गर्दा व्यापार पनि राम्रो भएको छ । विशेषगरी चटपटे, मःम, चाउमिन र चिसो पेय पदार्थको बिक्री बढी हुने गरेको छ ।’

संघीय र प्रदेश सरकारको सहयोगमा यहाँ विभिन्न भौतिक संरचनाको जीर्णोद्धार, जनावरको बासस्थान संरक्षण र कलात्मक मूर्ति निर्माण गरिएका छन् । तालतलैयामा एकैपटक ७० भन्दा बढी समूहले वनभोज खान सक्ने क्षमता रहेको छ । पूर्वी नेपालकै प्रमुख मनोरञ्जन र वनभोज गन्तव्यका रूपमा विकसित हुँदै गएको तालतलैयाबाट पर्यटन प्रवर्द्धनमा मद्दत पुगेको छ ।

प्रकाशित मिति : June 21, 2026 at 9:23 am