प्रभु बैंक घोटला : २ अर्ब २१ करोडको बैकिङ कसूर मुद्दा, यी हुन प्रतिवादीहरू
५ असार, काठमाडौँ । प्रभु बैंक घोटलामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सरकारी वकिलको कार्यालय स्रोतका अनुसार मुद्दा अध्ययन गरेर सकिएकाले सोमबार अदालतमा दर्ता गर्ने तयारी गरिएको छ ।
प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन र प्रभु बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित १७ जनाविरूद्ध मुद्दा तयार भएको छ । प्रहरीले एक साता अघि नै मुद्दा बुझाइसकेको स्रोतले जनाएको छ ।
प्रभु बैंक घोटलामा कुल २ अर्ब २१ करोड २१ लाख २५ हजार ७७२ रूपैयाँ ९४ पैसा बिगो कामय गर्न सीआईबीले सिफारिस गरेको छ । सीआईबीले तीन वटा मुद्दा बनाएको छ । सोही अनुसार सकारी वकिलको कार्यालयले मुद्दा तयार पारेको छ ।
प्रहरी अनुसन्धान प्रतिवेदनमा बैकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा प्रभु बैंकलाई हानी-नोक्सानी पुर्याएको रकम ८ करोड ९३ लाख १९ हजार ९८६ रूपैयाँ ३० पैसा र कर्जा दुरुपयोग गरेको रकम ११ करोड २४ लाख ४७ हजार ३४८ रूपैयाँ गरी २० करोड १७ लाख ६७ हजार ३३४ रूपैयाँ ३० पैसा र नियमानुसार हुने ब्याज समेत बिगो कायम गरी बिगो भराई बिगो बमोजिम जरिवाना हुन मागदावी गरिएको छ । यस मुद्दामा अशोक शेरचन, मनिराम पोखरेल, ऋवश श्रेष्ठ, दिनेश डंगोल, सुजिन शाक्य, कुसुम लामा र राजेन्द्र शाक्य गरी कुल सात जनालाई प्रतिवादी कामय गरिएको छ ।

त्यस्तै बैकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूरमा बैंकलाई ब्याज नतिरी हानी नोक्सानी पुर्याएको ४ करोड २६ लाख ५१ हजार ५३८ रूपैयाँ ५८ पैसा बिगो कायम गरिएको छ । यस मुद्दामा अशोक शेरचन, मनिराम पोखरेल र सुजिन शाक्यलाई प्रतिवादी बनाइएको छ भने यसैमा बाफियाको दफा १०३ बमोजिमको कसूर गरेको भनेर प्रभु ग्रुपका अध्यक्ष भट्टचनका हकमा एक्लै १ अर्ब २४ करोड रूपैयाँ कायम गरिएको छ । यस मुद्दामा कुल १ अर्ब २८ करोड २६ लाख ५१ हजार ५३८ रूपैयाँ ५८ पैसा कायम गरिएको छ ।
त्यस्तै बैकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसूर गरेको अभियोगमा अर्को मुद्दामा ७२ करोड ७७ लाख ६ हजार ९००रूपैयाँ ०६ पैसा विगो कामय गरिएको छ । यस मुद्दामा ओम प्रसाद पाण्डे, अशोक शेरचन, मनिराम पोखरेल, ऋवश श्रेष्ठ, रश्मी पन्त, देव ढुङ्गाना, हरिमान लामा, धन बहादुर शेरचन, महावीर तामाङ, देवान राई, सुरेश कुमार तिवारी र हरिकृष्ण भट्टचन रहेका छन ।
यसरी कुल तीन वटा छुट्टाछुट्टै मुद्दा तयार पारेर २ अर्ब २१ करोड २१ लाख २५ हजार ७७२ रूपैयाँ ९४ पैसा बिगो मागदाबी गरिएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ (बाफिया) को दफा १०३ ले इजाजतपत्र नलिई बैंकिङ कारोबार गर्ने, तोकिएको सीमा वा शर्त विपरीत कार्य गर्ने र गैरकानूनी तरिकाले वित्तीय कारोबार गर्ने जस्ता कार्यलाई कसूर मानेको छ
यस मुद्दामा दफा १०४ बमोजिम बिना इजाजत कारोबार गरेमा: बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिबाना र ५ वर्षसम्म कैद, निर्देशन/शर्त विपरीत कार्य गरेमा: बिगो जफत गरी बिगोको दुई गुणासम्म जरिबाना र २ वर्षसम्म कैद र अन्य सामान्य उल्लंघन गरेमा: बिगो जफत गरी बिगो बराबरको जरिबाना र १ वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको छ । फर्म, कम्पनी वा संस्थाले कसूर गरेमा: सो संस्थाका प्रमुख वा कसूर गर्ने पदाधिकारी/कर्मचारीलाई मुख्य व्यक्तिलाई हुने सरहको सजाय हुने व्यवस्था कानुनमा रहेको छ । रश्मी पन्तसहित केही प्रतिवादी फरार रहेका छन ।
प्रकाशित मिति : June 19, 2026 at 11:33 pm









