५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

सदर चिडियाखानामा भेटियो बर्डफ्लु, अनिश्चितकालका लागि बन्द

५ असार, काठमाडाैं। ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द भएको छ । चिडियाखाना परिसरभित्र राखिएका पन्छीहरूमा बर्डफ्लु संक्रमण पुष्टि भएपछि आजदेखि लागू हुने गरी चिडियाखाना बन्द गरिएको हो ।

dainiki.com

राष्ट्रिय प्रकृति संरक्षण कोषले आज सूचना जारी गर्दै सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी आजदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिडियाखाना बन्द गरिएको जनाएको छ ।

कोषकी प्रवक्ता रचना शाहले चिडियाखानाभित्र काग र परेवा मरेको अवस्थामा फेला परेपछि गरिएको परीक्षणमा बर्डफ्लुको सङ्क्रमण देखिएको बताइन् । “चिडियाखानामा बर्डफ्लुका कारण काग र परेवा मरेको पाइयो । पशु चिकित्सक तथा सम्बन्धित विज्ञसँग परामर्श गरिरहेका छौँ”, उनले भनिन्, “अन्य वन्यजन्तुलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा आवश्यक उपाय अवलम्बन गरिएको छ ।”

चिडियाखानाभित्र रहेका अन्य जीवजन्तुको स्वास्थ्य अवस्था निगरानी बढाइएको तथा सम्भावित सङ्क्रमण नियन्त्रणका लागि आवश्यक सतर्कता अपनाइएको कोषले जनाएको छ ।

प्रकाशित मिति : June 19, 2026 at 4:51 pm