दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छा लगायत विरूद्ध मुद्दा दायर
२८ जेठ, काठमाडौं । सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, धितोपत्र कारोबार र बीमा क्षेत्रसँग सम्बन्धित विभिन्न आरोपमा व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, शाहिल अग्रवाल, शंकरलाल अग्रवाल तथा उद्योगी शेखर गोल्छासहित दर्जनौँ व्यक्तिविरुद्ध विभिन्न अदालतमा मुद्दा दायर गरिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानपछि जिल्ला अदालत काठमाडौं, उच्च अदालत पाटन तथा विशेष अदालतमा छुट्टाछुट्टै अभियोगपत्र दायर गरिएको हो।
जिल्ला अदालत काठमाडौंमा दायर गरिएको एक मुद्दामा बीमा ऐन, २०७९ अन्तर्गत आर्थिक हिनामिना तथा अनियमितता गरेको आरोपमा शेखर गोल्छा, दीपक भट्ट, सुलभ अग्रवालसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। उक्त मुद्दामा नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्षहरू शरद ओझा र मदन दाहाललाई पनि प्रतिवादी कायम गरिएको छ।
अभियोगपत्रअनुसार हिमालयन रिइन्स्योरेन्स लिमिटेडसँग सम्बन्धित प्रकरणमा गोल्छासहित १० जनाविरुद्ध दुई अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ बिगो मागदाबी गरिएको छ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीसँग सम्बन्धित मुद्दामा अध्यक्ष आशिष श्रेष्ठसहित ९ जनाविरुद्ध १६ करोड १७ लाख ५२ हजार ८७३ रुपैयाँ बिगो कायम गरिएको छ।
त्यस्तै भृकुटी ब्रोकिङ कम्पनीसँग सम्बन्धित प्रकरणमा सन्दीप चाचान अग्रवाल, सुधा कर्ण, राजिव ठाकुर तथा सुलभ अग्रवालविरुद्ध तीन अर्ब ७३ करोड ८५ लाख २४ हजार २२७ रुपैयाँ बिगो माग गरिएको छ। दीपक भट्टसँग मात्र दुई अर्ब ८९ करोड २० लाख ४८ हजार ८३९ रुपैयाँ बिगो दाबी गरिएको छ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको अर्को मुद्दामा ८१ जनालाई प्रतिवादी बनाइएको छ। यो मुद्दा पनि जिल्ला अदालत काठमाडौंमा दायर गरिएको छ।
यता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्ट र सुलभ अग्रवालविरुद्ध विशेष अदालतमा छुट्टै सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ। सो मुद्दामा उनीहरूले कर्जाको स्रोत, लगानी र आर्थिक कारोबारको वास्तविक प्रकृति लुकाएको आरोप लगाइएको छ।
उच्च अदालत पाटनमा भने दीपक भट्ट, शाहिल अग्रवाल, सुलभ अग्रवाल र शंकरलाल अग्रवालविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत मुद्दा दायर गरिएको छ। उक्त मुद्दामा ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो मागदाबी गरिएको छ।
अभियोगपत्रअनुसार जगदम्बा स्टिल्सले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अगुवाइमा सहवित्तीयकरणमार्फत प्राप्त गरेको चालु पुँजी तथा अल्पकालीन कर्जालाई योजनाबद्ध रूपमा दुरुपयोग गरिएको आरोप छ। अनुसन्धान निकायका अनुसार उक्त रकम दीपक भट्टको एकल स्वामित्व रहेको इन्फिनिटी होल्डिङ्स प्रालिलगायत संस्थामा शेयर लगानीका रूपमा प्रयोग गरिएको थियो।
प्रकाशित मिति : June 11, 2026 at 8:17 pm









