२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

मलाई बचाइदिनुस् भन्दै एक महिनाअघि नै प्रहरीमा पुगेकी ईश्वरी अन्ततः श्रीमानको हातबाट मारिइन्

२३ जेठ, काठमाडौँ । आफ्नै ज्यानको सुरक्षाका लागि प्रहरीसँग गुहार मागेकी एक महिलाको अन्ततः श्रीमानको हातबाट ज्यान गएको छ ।

टिकटकमा ‘नेपाली ब्रो’ नामले परिचित नुवाकोटको तारकेश्वर गाउँपालिकाका स्थानीय बासिन्दा रहेका रेस्लर कुमार थापाकी श्रीमती ईश्वरी भुजेलले विगत करिब एक महिनादेखि आफू असुरक्षित रहेको भन्दै प्रहरी वृत्त बालाजुमा पटक–पटक सहयोगको याचना गरेकी थिइन्। तर उनको त्यो गुहारले पर्याप्त सुरक्षा नपाउँदा अन्ततः ज्यानै गुमाउनुपरेको छ।

प्रहरी स्रोतका अनुसार ईश्वरीले श्रीमानबाट आफूलाई निरन्तर मानसिक तथा शारीरिक हिंसा हुने गरेको भन्दै सुरक्षा माग्दै प्रहरीको सम्पर्कमा आएकी थिइन्। उनले आफ्नो ज्यान जोखिममा रहेको आशंका समेत व्यक्त गरेकी थिइन्।

शुक्रबार राति काठमाडौँको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारस्थित घरमा भएको घरायसी विवादले भयावह रूप लियो। कुमार थापाले फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएकी ईश्वरीलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले कुमार थापालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।

ईश्वरीले केही साताअघि नै आफ्नो सुरक्षाका लागि प्रहरीसमक्ष अनुरोध गरेको तथ्य बाहिरिएसँगै घटनाले थप गम्भीर प्रश्न उठाएको छ। ज्यानको जोखिमबारे उजुरी दिएकी महिलालाई पर्याप्त सुरक्षा किन प्रदान गर्न सकिएन भन्ने विषयमा समेत चासो बढेको छ।

प्रकाशित मिति : June 6, 2026 at 9:35 am