मलाई श्रीमानबाट बचाइदिनुस् भन्दै एक महिनाअघि नै प्रहरीमा पुगेकी थिइन ईश्वरी
२३ जेठ, काठमाडौँ । आफ्नै ज्यानको सुरक्षाका लागि प्रहरीसँग गुहार मागेकी नेपाली सेनामा कार्यरत एक महिलाको अन्ततः श्रीमानको हातबाट ज्यान गएको छ । टिकटकमा ‘नेपाली ब्रो’ नामले परिचित नुवाकोटको तारकेश्वर गाउँपालिकाका स्थायी बासिन्दा रहेका रेस्लर कुमार थापाले श्रीमती ईश्वरी भुजेलको हत्या गरेका हुन ।
कुमारले शुक्रबार राति कार्यालयबाट घर फर्किरहेको श्रीमतीलाई बाटो ढुकेर धारिलो हतियार प्रयोग गरी लखेटी लखेटी मारेका हुन । सुरूमा ईश्वरीको हत्या कोठामा भएको विवरणहरू सार्वजनिक भएको थियो । तर प्रहरी अनुसन्धानले उनको बाटोमा ढुकेर आक्रमण गरी हत्या भएको खुलेको छ ।

श्रीमानबाट मारिएकी ईश्वरीले सुरक्षा माग गर्दै प्रहरी बृत्त बालाजुमा पटक पटक अनुरोध गरेको उनको साथी र आफन्तले बताएका छन । उनी स्वयं उपस्थित भएर मलाई श्रीमानबाट बचाइदिनुस् भन्दै एक महिनाअघि नै प्रहरी कार्यालयमा पुगेको आफन्तले बताएका छन । ईश्वरीले सहयोग र सुरक्षाको याचना गरे पनि सेलिब्रेटी बनेर प्रहरीका उच्चपदस्थसँगको कुमारको तस्बिर फेसबुक र टीककमा देखेका प्रहरीले सहयोग गरेनन् । उनीहरूले कुमारलाई बोलाएर सम्झाउनेसम्मको काम पनि नगरेको आफन्तहरूको गुनासो छ ।
ईश्वरीले श्रीमानबाट आफूलाई निरन्तर मानसिक तथा शारीरिक हिंसा हुने गरेको भन्दै सुरक्षा माग्दै प्रहरीको सम्पर्कमा पुगेकी थिइन्। उनले आफ्नो ज्यान जोखिममा रहेको बताएकी छिन । प्रहरीसँग सम्बन्ध मजबुद भएका कुमार भने श्रीमतीको हत्यापछि सीधै प्रहरी बृत्त पुगेको बताइएको छ ।
प्रकाशित मिति : June 6, 2026 at 9:35 am









