त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको नेतृत्वमा पहिलो पटक महिला
२३ जेठ, काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको नेतृत्व पहिलो पटक महिलाको हातमा पुगेको छ। गृह मन्त्रालयले शुक्रबार गरेको सरुवा तथा पदस्थापनअन्तर्गत संखुवासभाकी प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियालाई विमानस्थल अध्यागमन कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको हो।
गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को निर्णयअनुसार भएको यो पदस्थापनालाई सामान्य प्रशासनिक फेरबदलभन्दा पनि संवेदनशील निकायमा नयाँ सन्देशका रूपमा हेरिएको छ। अध्यागमन कार्यालयको प्रमुख बन्ने थपलिया पहिलो महिला प्रशासक हुन् ।
नेपालको अन्तर्राष्ट्रिय प्रवेशद्वारका रूपमा रहेको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय पछिल्ला वर्षहरूमा विभिन्न विवादका कारण चर्चामा रहँदै आएको छ। विशेषगरी भिजिट भिसाको दुरुपयोग, मानव तस्करीसँग सम्बन्धित आरोप, कर्मचारी–दलालको सेटिङ तथा अनियमितताका विषयले यो कार्यालय बारम्बार आलोचनाको केन्द्र बन्न पुगेको थियो।
यसअघि कार्यालयको नेतृत्व सम्हालेका सहसचिव नरहरि घिमिरेको सरुवापछि नयाँ नेतृत्वको प्रतीक्षा भइरहेको थियो। घिमिरेको कार्यकालमा केही सुधारका प्रयास भए पनि अध्यागमन क्षेत्रमा लामो समयदेखि देखिँदै आएका संरचनागत समस्या र विवाद पूर्ण रूपमा समाधान हुन सकेका थिएनन्।
त्यसभन्दा अघि तत्कालीन प्रमुख तीर्थराज भट्टराई भिजिट भिसा प्रकरणमा अख्तियारको अनुसन्धान र मुद्दाको दायरामा परेपछि अध्यागमन प्रशासनमाथिको जनविश्वासमा समेत प्रश्न उठेको थियो। त्यसयता अध्यागमन सुधारको विषय सरकारका लागि चुनौतीपूर्ण मुद्दाका रूपमा रहँदै आएको छ।

यस्तो अवस्थामा सिर्जना थपलियाको आगमनलाई सुधारको अवसरका रूपमा हेरिएको छ । प्रशासनिक क्षेत्रमा सक्रिय र परिणाममुखी अधिकृतका रूपमा परिचित थपलियाले संखुवासभाको प्रमुख जिल्ला अधिकारी हुँदा सेवा प्रवाह र प्रशासनिक व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गरेको मूल्यांकन हुने गरेको छ।
तर उनको अगाडि चुनौतीको सूची लामो छ। अध्यागमन कार्यालयलाई दलालमुक्त बनाउने, भिजिट भिसा प्रणालीलाई थप पारदर्शी बनाउने, प्रविधिमा आधारित निगरानी प्रणाली विस्तार गर्ने तथा सेवाग्राहीमैत्री वातावरण निर्माण गर्ने काम तत्कालै अपेक्षा गरिएका विषय हुन्।
अध्यागमन कार्यालय केवल राहदानीमा छाप लगाउने कार्यालय मात्र होइन। विदेशी नागरिकले नेपाल सरकारको सेवा प्रणालीबारे पहिलो र अन्तिम अनुभव लिने स्थान भएकाले यसलाई राज्यको अन्तर्राष्ट्रिय अनुहारका रूपमा समेत लिइन्छ। त्यसैले यहाँ हुने सुधार वा कमजोरीले नेपालको अन्तर्राष्ट्रिय छविमै प्रत्यक्ष प्रभाव पार्ने गर्दछ।
प्रशासनविद्हरूका अनुसार अध्यागमनजस्ता संवेदनशील निकायमा व्यक्तिको परिवर्तन मात्र पर्याप्त हुँदैन। दीर्घकालीन सुधारका लागि प्रणालीलाई पारदर्शी, प्रविधिमैत्री र जवाफदेही बनाउनु आवश्यक हुन्छ। यद्यपि नयाँ नेतृत्वले सुधारको सुरुआत गर्न सक्ने अपेक्षा भने गरिएको छ।
पहिलो महिला प्रमुखका रूपमा सिर्जना थपलियाको नियुक्तिले राज्यका उच्च प्रशासनिक जिम्मेवारीमा महिलाको पहुँच बढ्दै गएको सन्देश दिएको छ। अब भने उनको सफलताको मापन इतिहास रच्ने नियुक्तिले होइन, अध्यागमन प्रशासनमा देखिने सुधार र परिणामले गर्नेछ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय अब नयाँ नेतृत्वको हातमा पुगेको छ। यसले सुधारको नयाँ अध्याय सुरु गर्छ कि विगतकै विवादको घेरामा अल्झिरहन्छ, त्यसको उत्तर आगामी दिनका कामकारबाहीले दिनेछन्।
प्रकाशित मिति : June 6, 2026 at 7:17 am









