३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

माअोवादी बटारिएपछि सबै सार्वजनिक कार्यक्रम रद्द गरी प्रधानमन्त्री अोली छलफलमा


१४ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आजको सवै कार्यक्रम रद्द भएको छ । मंगलवार साँझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग वान टु वान बार्ता भएपछि पार्टी एकताको टुंगो लगाउने गृहकार्यमा जुटन आजका सवै सार्वजनिक कार्यक्रम रद्द भएको हो ।

केही समयदेखि रोकिएको एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया मंगलवार साँझबाट पुनः अघि बढेको छ । एकताका लागि गृहकार्य गर्न गठित दुवै कार्यदलले प्रतिवेदन बुझाउन ढिलाइ गर्दा अवरुद्ध बनेको एकता प्रक्रिया मंगलबाबारबाट सुचारु भएको हो । एकताको विषयमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार साँझ लामो कुराकानी भएको छ ।

माओवादीभित्र एकताविरोधीले आफ्नो स्वार्थका लागि सांगठानिक संरचनामा आधा–आधा हुनुपर्ने दबाब बढाएपछि मंगलबार दुई नेताले लामो छलफल गर्दै विगतको सहमतिका आधारमा तलमाथि नगरी अघि बढ्ने सहमति गरेका छन् । एकता चाँडो टुंग्याउने सहमति दुई नेताबीच भएको छ, विगतमा भएको सहमतिलाई अक्षरशः पालना गरेर अघि बढ्नेमा कुनै दुविधा छैन,’ दाहालनिकट स्रोतले भन्यो । वार्तामा दाहालले आधा–आधा हिस्सा नभए पार्टी एकता नहुने भन्ने अभिव्यक्तिको पनि प्रस्टीकरण दिएका थिए ।

‘आन्तरिक खपतका लागि केही त भन्नैपर्छ, यसले छिटो एकतामा बल पुगोस् भनेर नै आफ्नो धारणा राखेको हो, सम्मानजनक एकता भनेकै सबैको बराबरी हो, कोही निराश हुनुपर्दैन भन्ने कुरा राखेको हो, बाहिर बंग्याएर आएछ,’ स्रोतका अनुसार दाहालको भनाइ थियो । वार्ताको क्रममा दुवै नेताले एकतामा ढिलाइ भइरहेको महसुस गरेका थिए ।

स्रोतका अनुसार दुवै नेताले कार्यदललाई छिटो प्रतिवेदन बुझाउन निर्देशन दिने र एकता संयोजन समितिको बैठक राखेर एकता घोषणा गर्ने निचोड निकालेका छन् । यसैगरी, दुवै पार्टीभित्रबाट भइरहेको चलखेल र मन्त्री नपाएको झोकमा आउने अभिव्यक्तिमाथि पनि कडाइका साथ निगरानी गर्दै आगामी काम अघि बढाउने योजना बनेको छ । ओली र दाहालले एकता आफूहरूले नै सुरु गरेकाले निष्कर्षमा पुर्याउने जिम्मेवारी पनि आफूहरूमै रहेको भन्दै पार्टीभित्रको बिचौलिया समूहको दबाबमा एकतामा ढिलाइ नगर्ने निष्कर्षसमेत निकालेका छन् ।

‘अब ढिलाइ नगरौँ, सकेसम्म चाँडो टुंग्याऊँ भन्ने दुवै नेताको निष्कर्ष रहेको छ,’ स्रोतले भन्यो । एमाले र माओवादीबीचको एकतामा नेताहरूको पदीय बार्गेनिङबाहेक अरू विवाद छैन । दुवै दलका नेताबीच गत २ फागुनमा दुवै अध्यक्ष रहने र आलोपालो अध्यक्षता गर्ने सहमति भइसकेको छ ।

यसैगरी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको संख्याबारे पनि सहमति भइसकेको छ । दुवै पार्टीका नेताहरूको दबाबमा ओली र दाहाल ९९ सय सदस्यीय केन्द्रीय कमिटीको अडानबाट ललिचलो बन्दै ३ सय १ सदस्य बनाउनेमा सहमत भइसकेका छन् । यसैगरी, पार्टीको मार्गदर्शक सिद्धान्त पनि माक्र्सवाद–लेनिनवाद राख्ने टुंगो लागिसकेको छ ।

सरकार गठनपछि केही समय व्यस्त रहनुपरेको र दुई नेताबीच दैनिक वार्ता हुन नसकेपछि बिचौलिया खेल्न थालेको निष्कर्षका साथ मंगलबारबाट दुई नेताले वान टु वान वार्ता थालेका हुन् । केही दिनअघि बसेको केन्द्रीय कार्यालय बैठकमा माओवादीका केही नेताले एकता हुँदा आधाआधा हिस्सा हुनुपर्ने भन्दै दाहालमाथि दबाब बढाएका थिए । उनीहरूले आफ्नो अध्यक्ष पद सुरक्षित गराएर अरू सबैको पद छाडिदिएको भन्दै दाहालमाथि आधा–आधा हिस्सा भन्ने प्रस्ताव लैजान दबाब बढाएका थिए ।

विगतमा सहमति भइसकेको विषयमा विवाद झिक्दा एकता भाँड्ने योजनाका साथ दबाब दिएपछि दाहालले समेत विद्यार्थी भेलामा आधा–आधाकै नीति लिने बताएका थिए । तर, मंगलबारको छलफलमा दाहालले यसअघि भएका कुनै पनि सहमतिबाट पछि हटेर एकतामा भाँडभैलो मच्चाउन नसकिने भन्दै ओलीलाई आश्वस्त पारेका छन् । एमाले र माओवादीले गत चुनावमा ६०-४० को अनुपातमा उम्मेदवार उठाएका थिए ।

परिणाममा ७०-३० को अनुपातमा निर्वाचित भएपछि सोही आधारमा प्रदेश सरकारमा भागबन्डा गरिएको थियो । तर, एकतामा ढिलाइ भएपछि माओवादीभित्र एकतामा आधा–आधाको हिस्सा हुनुपर्ने दबाब बढेको हो । सोही दबाब थेग्न नसकी दाहालले बराबरको कुरा उठाउनु परेको बताएका छन् । जनताटाइम्सबाट

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार ०९:५१