नेपालमा गणतन्त्रको आत्मा नै अपहेलित भएको छः राजनीति शास्त्री थापा
१५ जेठ, काठमाडाैँ । राजनीति शास्त्री प्रा डा गंगा थापाले नेपालमा गणतन्त्रको आत्मा नै अपहेलित भएको टिप्प्णी गर्नुभएको छ । फेसबुक मार्फत गणतन्त्र दिवसको अवसरमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँको टिप्पणी यस्तो छ
उसो त म गणतन्त्रवादी नै हुँ। तर बितेका दुई दशकको गणतान्त्रिक शासन हेर्दा, नेपालमा गणतन्त्रको आत्मा नै अपहेलित भएको अनुभूति हुन्छ। आखिर व्यवस्था केवल संविधानका अक्षरले होइन, त्यसलाई सञ्चालन गर्ने मानिसहरूको चरित्रले जीवित रहने रहेछ। जब रामवरण, विद्या भण्डारी र रामचन्द्रजस्ता तिन कौडीका, निष्ठाहीन सडकछाप राष्ट्रपति, तथा पुष्पकमल दाहाल, खड्ग प्रसाद ओली, बाबुराम भट्टराई, शेरबहादुर देउबा, माधव नेपाल र झलनाथ जस्ता ढोंगी, पाखण्डी, अपराधी, आतंककारी, राष्ट्रद्रोही हरामीहरू प्रधानमन्त्री बन्छन्, तब त्यो केवल व्यक्तिको पतन होइन—गणतन्त्र स्वयं पराजित भएको संकेत हो।
शासन परिवर्तन भयो, दरबार हट्यो, तर त्यसको स्थान चरित्रहीन दुष्टहरूले लिए। इतिहासले बारम्बार देखाएको छ—सत्ता परिवर्तन मात्रले समाज बदलिँदैन; चेतना, नैतिकता र राजनीतिक संस्कार परिवर्तन नभएसम्म व्यवस्था केवल नयाँ मुख लगाएको पुरानो विकृति बन्न पुग्छ। नेपालले पनि अहिले त्यही संक्रमणको पीडा भोगिरहेको छ।
अब हेर्न बाँकी छ—रास्वपाको शासन पुरानै प्रवृत्तिको निरन्तरता बन्छ कि देशलाई आधारभूत परिवर्तनतर्फ डोर्याउने साहस देखाउँछ। मार्च ०५, २०८२ ले नेपालका खलनायक राजनीतिक दलहरू र तिनका नाइकेहरूलाई फोहोरको नालीमा फालिदिएको संकेत अवश्य दिएको छ, तर इतिहासको अन्तिम फैसला अझै बाँकी छ। परिणामका लागि केही समय अझै पर्खिनै पर्छ।

प्रकाशित मिति : May 29, 2026 at 8:39 am







