१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

रास्वपाका १६ सांसदमाथि अनुसन्धान गर्न मानव अधिकार आयोगको सिफारिस

१३ जेठ, काठमाडौं । भदौ २३ र २४ गते भएको घटनामा मानव अधिकार उल्लंघन भएको निष्कर्ष निकाल्दै राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १६ जना सांसदहरूमाथि छानबिन गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगद्वारा गठित समितिको प्रतिवेदनका आधारमा दोषी देखिएकाहरूलाई कारबाहीको दायरामा ल्याउन यो कदम चालिएको हो।

अनुसन्धानको घेरामा परेका रास्वपाका सांसदहरूमा मनिष झा, हरि ढकाल, डा. तोसिमा कार्की, गणेश कार्की, सुलभ खरेल, कृष्ण कार्की, आशिका तामाङ, बब्लु गुप्ता, राजिव खत्री, शोम शर्मा, केपी खनाल, दिपक बोहरा, ज्वाला संग्रौला, शिव यादव, सुधन गुरुङ र पुरुषोत्तम यादव रहेका छन्।

आयोगको प्रतिवेदनमा उल्लेख भएअनुसार पूर्वगृहमन्त्री समेत रहेका सुधन र सांसद यादवले ‘जेनजी आन्दोलन’ सञ्चालन गर्नका निम्ति अनुमति लिएका थिए। यसैगरी, सर्वसाधारण र भिडलाई उत्तेजित बनाउने समूह पहिचान गरी कानुनी कारबाही गर्न समेत प्रतिवेदनले निर्देश गरेको छ।

आयोगकी सदस्य लिली थापाको नेतृत्वमा गठित विशेष समितिले उक्त घटनाको स्थलगत अध्ययन गरी यो प्रतिवेदन तयार पारेको हो। आयोगले बुधबार नै आफ्नो सिफारिससहितको उक्त प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गराएको छ।

प्रकाशित मिति : May 27, 2026 at 6:05 pm