काठमाडौं गोकर्णेश्वरमा बर्डफ्लु पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह
१२ चैत, काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा घातक मानिने ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ (बर्डफ्लु) पुष्टि भएको छ । नगरपालिकाको वडा नं. २, ३ र ४ मा बर्डफ्लुको सङ्क्रमण देखिएसँगै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।
सङ्क्रमण देखिएका क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पन्छीहरू, अण्डा र दानालाई सुरक्षित रूपमा नष्ट गरी खाल्डोमा गाड्ने र सो क्षेत्रलाई निसंक्रमण गर्ने कार्य भइरहेको नगरपालिकाले जानकारी दिएको छ ।
रोग अन्य क्षेत्रमा फैलिन नदिनका लागि प्रभावित क्षेत्रमा सुरक्षित तवरले पंक्षीहरूको विसर्जन (डिस्पोज) गरी निसंक्रमणको कार्यलाई तीव्रता दिइएको छ । बर्डफ्लु पंक्षीहरूबाट मानिसमा समेत सर्न सक्ने उच्च जोखिमयुक्त ‘जुनोटिक’ रोग भएकाले नगरपालिकाले सर्वसाधारण र फार्म सञ्चालकहरूका लागि निर्देशनहरू जारी गरिएको छ ।
नगरपालिकाले पंक्षी फार्महरूमा अनावश्यक व्यक्ति र सवारी साधनको प्रवेशलाई पूर्णतः निषेध गर्न र प्रवेश गराउनै पर्ने अवस्थामा अनिवार्य रूपमा निसंक्रमण गरेर मात्र प्रवेश गराउन अनुरोध गरेको छ ।
यस्तै, एउटा फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जाँदा सङ्क्रमण फैलने डर हुने भएकाले त्यसो नगर्न र प्रयोग भइसकेका अन्डा राख्ने कागजको क्रेटलाई पुनः प्रयोग नगर्न समेत सचेत गराइएको छ ।
रोग नियन्त्रणका लागि फार्मको जैविक सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्दै नगरपालिकाले फार्म वा खोरको प्रवेशद्वारमा अनिवार्य रूपमा चुन वा निसंक्रामक औषधि राखिएको ‘फुटबाथ’ को व्यवस्था गर्न र फार्मभित्र प्रवेश गर्दा छुट्टै बुट तथा एप्रोन प्रयोग गर्न निर्देशन दिएको छ ।
फार्म परिसरलाई दैनिक रूपमा निसंक्रमण गर्न र फार्मभित्र कुकुर, बिरालो, मुसा जस्ता अन्य जनावरलाई प्रवेश गर्न नदिन समेत भनिएको छ ।उपभोक्ताहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै नगरपालिकाले मासु तथा मासुजन्य पदार्थहरूलाई राम्ररी पकाएर मात्र सेवन गर्न र पंक्षीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न सूचित गरेको छ ।
यदि कसैको फार्म वा घरपालुवा पंक्षीहरू अचानक धेरै संख्यामा बिरामी परेमा वा मरेमा, त्यसलाई जथाभाबी नफ्याँकी सुरक्षित तवरले खाडलमा गाड्न र तुरुन्तै नजिकको स्थानीय तह, पशु सेवा शाखा वा पशु सेवा कार्यालयमा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ ।
प्रकाशित मिति : May 26, 2026 at 12:24 pm









