पत्रकार किशोर श्रेष्ठ प्रहरी निगरानीमा
११ जेठ, काठमाडौँ । नेपाल पत्रकार महासंघले पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले निगरानी गर्दै धरपकडको प्रयास गरेको जनाएको छ । महासंघका महासचिव रामप्रसाद दाहालले सोमबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठ माथि प्रहरीले गरिरहेको व्यवहारप्रति महासंघको ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।
महासंघको विज्ञप्तिमा यस्तो भनिएको छ,
समाचारसंग सम्बन्धित विषयलाई लिएर वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले निगरानी गर्दै धरपकडको प्रयास भएको र विभिन्न व्यक्तिबाट धम्की दिइएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
केही दिनअघि जनआस्था साप्ताहिक र जनआस्था डटकममा मन्त्री र सत्ताधारी दलका नेताको बारेमा आलोचनात्मक समाचार प्रकाशित भएपछि प्रधान सम्पादक श्रेष्ठले यस प्रकारको व्यवहार झेल्नुपरेको महासंघ काठमाडौ शाखाले जनाएको छ ।
गृह मन्त्रालयको जिम्मेवारी लिइरहेका प्रधानमन्त्रीको निर्देशनमा आफूलाई धरपकड गर्ने, धम्क्याउने तथा समाचारको स्रोत खोल्न दबाब दिनेजस्ता गतिविधि बढिरहेको प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठले महासंघलाई जानकारी गराउनु भएको छ ।
समाचार लेखेकै आधारमा श्रेष्ठमाथि भइरहेका व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै प्रहार भएको महासंघको बुझाई छ । यस प्रकारको व्यवहारको महासंघ निन्दा गर्दछ ।
महासंघ प्रेस विरोधी व्यवहार सच्याउन र समाचारप्रति विमति भए प्रेस काउन्सिल नेपालमार्फत समाधान खोज्न सम्बद्ध पक्षसंग माग गर्दछ । साथै पत्रकार श्रेष्ठलाई धम्क्याउने व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारबाही गर्न जोडदार माग गर्दछ ।

प्रकाशित मिति : May 25, 2026 at 9:35 pm







