अमृत झाको रिहा भएको गलत सूचना दिएकोमा परराष्ट्र मन्त्रालयले माग्यो माफी
४ जेठ, काठमाडौं । परराष्ट्र मन्त्रालयले इरानी हिरासतबाट नेपाली नागरिक अमृत झा रिहा भएको भन्ने गलत सूचना दिएकोमा माफी मागेको छ। आज एक विज्ञप्ति निकाल्दै मन्त्रालयले यसअघि झा रिहा भएको भन्दै दिइएको जानकारीबाट अन्योल र असुविधा भएको भन्दै माफी मागेको छ ।
‘इरानको स्थानीय अदालतमा मुद्दा विचाराधीन रहेको र झा थुनामै रहेको अवस्थामा निज रिहा भएको भन्ने अनौपचारिक जानकारी सार्वजनिक हुन गएबाट सिर्जना भएको अन्योल र असुविधाप्रति मन्त्रालय क्षमा प्रार्थी छ,’ मन्त्रालयले भनेको छ, ‘पछिल्लो जानकारी अनुसार एक्सपर्ट रिपोर्टका लागि गठित विज्ञ टोलीले प्रतिवेदन तयार गरी अदालतमा बुझाउने क्रममा रहेको छ।’
त्यस्तै झाको मुद्दामा निष्पक्ष सुनुवाइका लागि निरन्तर कूटनीतिक पहल भइरहेको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार झालाई अवैध सामान तस्करी एवं ओसारपसारको आरोपमा पक्राउ परेका थिए।

प्रकाशित मिति : 17:02









