४ जेष्ठ २०८३, सोमबार | Mon May 18 2026

पर्चा देखाएर सदनमा प्रदर्शन गर्ने शैली संसदीय अभ्यास र मर्यादाविपरीतः सभामुख

४ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध जनाउनुभएको छ । बैठक प्रारम्भ हुनासाथ सो पार्टीका अध्यक्ष हर्कराज राईसहितका सदस्यहरुले आफ्नो स्थानबाट उठेर ‘प्ले कार्ड’ देखाउँदै सभामुखको वेल घराउ गर्न पुग्दा मर्यादापालकले रोकेका थिए । उक्त पार्टीको विरोधप्रति ध्यानाकर्षण गराउँदै सभामुख डोलप्रसाद अर्यालले पर्चा देखाएर सदनमा विरोध गर्ने शैली संसदीय अभ्यास र मर्यादाविपरीत भएको बताउनुभयो ।

उहाँले यस प्रकारको विरोध आगामी दिनमा नगर्न आदेश दिनुभयो । सो पार्टीले नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषमाथि जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित नभएपछि यसअघिको गत वैशाख ३१ गतेको बैठक बहिष्कार गरेको थियो ।

आजको बैठकमा कार्यव्यवस्था परामर्श समितिमा रहनुहुने सदस्यहरुको हेरफेर, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस र आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलका कार्यसूची रहेको छ ।

प्रकाशित मिति : 11:39