२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

सीबीएम कलेजको फुटसल प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

२७ वैशाख, काठमाडौँ । एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै कलेज अफ बिजनेस म्यानेजमेन्ट (सीबीएम)ले आयोजना गरेको फुटसल प्रतियोगिताका विजेताहरूलाई आज एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ।

वैशाख २५ गते सम्पन्न प्रतियोगितामा पुरुषतर्फ ४५ टोली र महिलातर्फ ५ टोलीको उल्लेखनीय सहभागिता रहेको थियो। विभिन्न विद्यालयबाट एसईई दिएका विद्यार्थीहरूको सक्रिय सहभागिताले प्रतियोगिता उत्साहजनक बनेको आयोजकले जनाएको छ।

आज आयोजित पुरस्कार वितरण कार्यक्रममा कलेजका अध्यक्ष तथा प्रमुख अतिथि लेखनाथ कोइरालाले विजेता तथा सहभागी सबै विद्यार्थीहरूलाई बधाइ तथा शुभकामना व्यक्त गर्नुभयो। उहाँले विभिन्न विद्यालयबाट एसईई दिएका विद्यार्थीहरूलाई उज्ज्वल भविष्य निर्माणका लागि कलेज अफ बिजनेस म्यानेजमेन्ट रोज्न आग्रह समेत गर्नुभयो।

कार्यक्रममा अध्यक्षता गरेका हरीश भण्डारीले पनि खेलकुदले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा शिक्षक, कर्मचारी, सञ्चारकर्मी तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रतियोगितामा पुरुषतर्फ इन्साइट भिजन स्कुल ‘रनर अप’ बनेको छ भने एचडब्लुसी फुटसल टोली विजेता बनेको छ। विजेता टोलीले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले नगद ५ हजारसहित मेडल र प्रमाणपत्र पाएको छ।

त्यस्तै, महिलातर्फ साभेज सिस्टर्स ‘रनर अप’ बनेका छन् भने एबीसी गर्ल्स विजेता बनेका छन्। विजेता टोलीले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेताले मेडल र प्रमाणपत्र र नगद रू ३ हजार प्राप्त गरेका छन्।

कार्यक्रममा सहभागी सबै टोली, स्वयंसेवक तथा सहयोगीहरूलाई कलेजले धन्यवाद ज्ञापन गरेको थियो। आयोजकका अनुसार यस्तो प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि बढाउने तथा उनीहरूको समयलाई सिर्जनात्मक रूपमा उपयोग गर्न सहयोग पुर्‍याउने विश्वास गरेको छ।

default

प्रकाशित मिति : 18:16