निर्वाचनको पूर्वसन्ध्यानमा इप्पानको संशोधन भएको विधान नै गायब, के थियो संशोधनमा ?
१९ वैशाख, काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ नेतृत्व चयनका लागि हुन लागेको २४औँ वार्षिक साधारणसभाको सम्मुखमा संशोधन भएको विधान नै गायब भएको खुलासा भएको छ । इप्पानका उपमहासचिव प्रकाश दुलाले दैनिकी संवादमा माधवप्रसाद तिवारीसँग कुराकानी गर्दै यसको खुलासा गर्नुभएको हो ।
आगामी जेठ २९ गते हुने साधारणसभाले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । तर एक महिनाअघि विधानको विषयले इप्पान विवादमा तानिएको छ । इप्पानभित्रको एकाधिकार अन्त्यका लागि विधानमा गरिएको संशोधन नै गायब बनाएर पुरानै विधानमा निर्वाचनको तयारी गरिएपछि उपमहासचिव दुलालले दैनिकी मार्फत यसको भण्डाफोर गर्नुभएको हो ।

इप्पानले नयाँ नेतृत्व चयनका लागि अभिवक्त चिरञ्जिवी खतिवडाको संयोजकत्वमा निर्वाचन समिति समेत गठन गरिसकेको छ । समितिले पुरानै विधान अनुसार कार्यसमितिको चयनको तयारी गरेपछि विधान गायब बनाइएको कुरा सार्वजिनक भएको हो ।

२०८० जेठ ३२ गते सम्पन्न २१ औँ वार्षिक साधारसभाले विधान संशोधनका लागि भानुभक्त पोखरेलको संयोजकत्वमा समिति गठन भएको थियो । सदस्यहरूमा रामप्रसदा आचार्य, होमकान्त चौलागाइ, सुमनप्रसाद शर्मा र डा सन्दीप शाह सदस्य रहनुभएको थियो । समितिले २०८२ असार २९ गते विधान संशोधनको प्रस्ताव पेश गरेको थियो । त्यसपछि भएको इप्पानको २३ औँ साधारसभाले उक्त संशोधन प्रस्तव सर्वसम्मतिले पारित भएको थियो । सोही निर्णय र विधान जिल्ला प्रशासन कार्यालयमा समेत बुझाएर संस्थाको नविकरण समेत भएको थियो । तर नेतृत्व चयनका लागि हुन लागेको २४ औँ साधारसभामाको सम्मुखमा संशोधन भएको विधान नै गायब भएको छ ।

विधानमा वरिष्ठ उपाध्यक्ष पद हटाउने, उपाध्यक्ष ५ जना रहने ४ जना खुला र एक महिला हुने, सचिव ५ जना रहने तीन खुला, एक महिला र एक युवा हुने । इप्पानको अध्यक्ष र पदाधिकारी हुन कुनै पनि राजनीतिक दलको कमिटीमा नरहेको हुनुपर्ने । उम्मेदवार हुने योग्यतामा लगाइएको सम्पूर्णबार हटाउने । अध्यक्ष हुनका लागि एक कार्यकाल कार्यसमितिमा काम गरेको हुनुपर्ने र बाँकी सबै पदका लागि साधारणसदस्य सबै योग्य हुनेगरी व्यवस्था गर्ने । कुनै पनि असामान्य अवस्था आएमा पच्चिस प्रतिशत सदस्यले साधारणसभा बोलाउन सक्ने व्यवस्था कायम गर्ने ।
सधैँ सीमित व्यक्तिहरू कर्मचारीको बढुवाको शैलीमा संस्थामा रहिरहने भएपछि इप्पानलाई लोकतान्त्रिक बनाउन यस्तो व्यवस्था प्रस्ताव गरिएको थियो । तर उक्त व्यवस्था फेरि गायब बनाएर पुनः परानै लयमा संस्थाभित्र एकाधिकार कायम राख्नेगरी संशोधन भएको विधान समेत गायब पारिएपछि विवाद उत्पन्न भएको छ ।
इप्पानमा अहिले अध्यक्षमा गणेश कार्की, वरिष्ठ उपाध्यक्षमा मोहन डाँगी र महासचिव बलराम खतिवडा हुनुहुन्छ । वरिष्ठ उपाध्यक्ष डाँगी पुरानै विधान अनुसार निर्वाचन हुँदा स्वतः अध्यक्ष बन्ने भएपछि नयाँ विधान लुकाउन लागि परेको आशंका गरिएको छ । डाँगीको अनुकुलतामा नै निर्वाचन समितिको संयोजक समेत तोकिएको छ । यसरी संशोधन भएको बिधान गायब बनाउन अध्यक्ष र महाचसिवको समेत भूमिका रहेको अनुमान गरिएको छ । यस विषयमा दैनिकीले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवको धारणा समेत लिएर छुट्टै समाचार प्रकाशित गर्नेछ ।
प्रकाशित मिति : 07:17









