गृहमन्त्री गुरुङले दीपक भट्टको साझेदारीमा प्राप्त सेयर लुकाएको खुलासा
६ वैशाख, काठमाडौँ । लघु बीमा कम्पनीमा लगानीसम्बन्धी विवरण सार्वजनिक भएपछि गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरण र सुशासनप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठेको छ। दियोपोस्टले गुरूङले लुकाएको सेयर बिबरण आइतबार सार्वजनिक गरेको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको सन्दर्भमा चर्चामा रहेका दीपक भट्ट र जगदम्बा ग्रुपसँग सम्बन्धित भनिएको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर संरचनामा गृहमन्त्री गुरुङको नाम देखिएको हो । सार्वजनिक भएको सेयर लगतअनुसार गुरुङको नाममा २५ लाख रुपैयाँ बराबरको लगानी उल्लेख गरिएको छ । जुन कुरा गृहमन्त्री गुरूङले सम्पत्ति विवरणमा लुकाउनु भएको थियो ।
उक्त विवरणमा गृहमन्त्री गुरूङको स्थायी ठेगाना चुमनुब्री गाउँपालिका–२ र बाबुको नामसमेत उल्लेख गरिएको छ, जुन सरकारी अभिलेखसँग मिलेको छ। तर, गृहमन्त्री गुरुङले सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरणमा उक्त लगानी समावेश भएको छैन । यस विषयमा गुरुङको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन ।

उक्त कम्पनीमा विभिन्न व्यवसायिक समूहसँग सम्बन्धित व्यक्तिहरूको लगानी रहेको पनि विवरणमा उल्लेख छ। केही औद्योगिक घराना, निजी क्षेत्रका प्रतिनिधि, पूर्व सरकारी अधिकारी तथा अन्य व्यवसायीहरूको नाम सेयरधनीका रूपमा जोडिएको बताइएको छ। कम्पनी रजिष्ट्रार कार्यालय स्रोतलाई उद्धृत गर्दै सार्वजनिक गरिएका तथ्यांकअनुसार कम्पनीमा करिब पाँच दर्जनभन्दा बढी सेयरधनी रहेका छन् ।
यसैबीच, लघु बीमा कम्पनीहरूको लाइसेन्स वितरण प्रक्रियाबारे पनि पुनः बहस सुरु भएको छ । २०७९ सालको निर्वाचनपछि नेपाल बीमा प्राधिकरणले सात वटा लघु बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो। सो प्रक्रियामा सीमित समूहलाई फाइदा पुग्ने गरी निर्णय गरिएको आरोप यसअघि नै उठ्दै आएको थियो ।
उक्त प्रकरणमा तत्कालीन नियामक निकायका पदाधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरिसकेको पृष्ठभूमिमा अहिले सार्वजनिक भएको नयाँ विवरणले थप प्रश्नहरू उठेको छ । सरोकारवालाहरूले लाइसेन्स वितरण, लगानी संरचना र नियामकीय पारदर्शिताबारे गम्भीर छानबिन आवश्यक रहेको बताउँदै आएका छन ।

गृहमन्त्री गुरुङ हाल सुशासन, पारदर्शिता र आर्थिक अनियमितताविरुद्ध कडा कदम चाल्ने एजेन्डासहित सरकारमा हुनुहुन्छ । यस्तो अवस्थामा गुरूङ स्वयंको नाम विवादास्पद भनिएको लगानीसँग जोडिएको खबर बाहिरिनु र त्यसमा लगानी भएको देखिएको सेयर सम्पत्ति विवरणमा देखिनुले गुरूङका लागि अब सत्तामा एक घण्टा पनि बसिरहन नैतिक बल नदेखिएको विश्लेषकहरू बताउँछन ।
सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो सम्पूर्ण सम्पत्ति पारदर्शी रूपमा खुलाउनुपर्ने संवैधानिक र नैतिक दायित्व हुन्छ । यदि विवरणमा कुनै सम्पत्ति छुटेको पुष्टि भएमा त्यसले कानुनी तथा राजनीतिक दुवै परिणाम निम्त्याउन सक्छ । अब गृहमन्त्रीले पनि पदबाट राजीनामा दिएर सरकारलाइ छानविनमा सहयोग गर्नुपर्ने अवस्था आएको छ ।
यता सम्पत्ति शुद्धिकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गरिरहेको अनुसन्धानका बारेमा प्रष्ट जानकारीहरू अहिलेसम्म सार्वजनिक भएका छैनन् । अब सार्वजनिक रूपमा आएका विवरणहरूको सत्यता पुष्टि गर्न स्वतन्त्र र निष्पक्ष अनुसन्धान आवश्यक रहेको छ। त्यसका लागि गृहमन्त्रीले तत्कालै पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्नुको विकल्प छैन । यस प्रकारणमा चुप रहे प्रधानमन्त्री बालेन्द्र शाह बालेनको सुशानको प्रतिवद्धतामा गम्भीर प्रश्न उठ्ने निश्चित छ ।
प्रकाशित मिति : 19:40









