करण केसीमाथि क्यानको कारबाहीः एक खेलमा प्रतिबन्ध, म्याच शुल्क जरिवाना
२९ चैत, काठमाडौं । क्रिकेटर करण केसी कारबाहीमा परेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका प्रमुख अलराउन्डर करण केसीमाथि अनुशासनात्मक कारबाही गरेको हाे। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२ सञ्चालन भइरहेका बेला सामाजिक सञ्जालमार्फत उनले व्यक्त गरेको अभिव्यक्तिलाई लिएर क्यानले गम्भीर ध्यानाकर्षण भएकाे जनाएको छ।
क्यानद्वारा जारी विज्ञप्तिअनुसार करण केसीको उक्त अभिव्यक्ति खेल भावना र आचारसंहितासँग मेल नखाने ठहर गरिएको छ। खेलाडीहरूबाट अपेक्षित अनुशासन, मर्यादा र जिम्मेवारी विपरीत जाने किसिमको गतिविधि भएको भन्दै क्यानले यस विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ।
साथै, क्यानले केसीलाई प्रधानमन्त्री कपअन्तर्गत एक खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। साथै उनलाई उक्त खेलको १०० प्रतिशत म्याच शुल्क जरिवाना गर्ने पनि निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
क्यानले खेलाडीहरूलाई सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बन्न आग्रह गर्दै खेल भावना, अनुशासन र संस्थागत मर्यादा कायम राख्न पुनः सचेत गराएको छ। खेलको गरिमा जोगाउन र सकारात्मक वातावरण निर्माण गर्न सबै खेलाडी तथा सम्बन्धित पक्षहरूको भूमिका महत्वपूर्ण हुने क्यानको भनाइ छ।

प्रकाशित मिति : 13:07









