नक्कली नोट पहिचान गर्न राष्ट्र बैंकको आग्रह, कसरी चिन्ने ?
५ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले जाली नोट मुद्रण, ओसारपसार र कारोबार गर्नु गैरकानुनी भएको जनाएको छ । राष्ट्र बैंकले सर्वसाधारणलाई नक्कली नोटको जोखिमबाट बचाउन चेतनामूलक जानकारी सार्वजनिक गर्दै जाली नोट सम्बन्धमा जानकारी दिएको हो ।
बैंकले नयाँ तथा पुराना रुपैयाँका नोटमा रहेका सुरक्षात्मक विशेषताहरू पहिचान गर्न आग्रह गर्दै जानकारीमूलक सामग्री प्रकाशित गरेको हो। बैंकका अनुसार बजारमा कहिलेकाहीँ नक्कली नोट प्रयोग हुने घटनाहरू देखिएकाले नागरिक स्वयं सचेत हुनु अत्यन्त आवश्यक छ।
केन्द्रीय बैंकले आर्थिक लेनदेन र कारोबार गर्दा बैंक नोट शङ्कास्पद लागेमा नजिकैको प्रहरी कार्यालय, बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा लगेर त्यस्तो शङ्कास्पद नोट प्राप्त भएको स्रोतको बारेमा जानकारी गराउनुपर्ने बताएको छ ।
बैंक नोट छाम्दा साधारण कागज जस्तो चिप्लो लागेमा, बैंक नोटको रङ फिक्का जस्तो लागेमा वा सुरक्षण धागो रङले पोतेको, बाहिरबाट टाँसेको र सामान्यभन्दा फरक देखिएमा वा उठ्नुपर्ने भागहरू चिप्लो र सम्म भएको जस्तो लागेमा, हेरेर, छामेर र ढल्काएर थप परीक्षण गर्नुपर्ने जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार १२:१५










