२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

३६.७५ प्रतिशतले बढ्याे अपि पावरको नाफा, प्रतिसेयर आम्दानी कति ?

२८ माघ, काठमाडौं। अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४२ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.७५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३१ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीले विद्युत बिक्रीबाट ९५ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ११.७९ प्रतिशतले बढी हो। अन्य आम्दानी भने घटेर ८८ लाख १९ हजार रुपैयाँमा सीमित भएको छ।  समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च भने ३६.३१ प्रतिशत घटेको छ।

६ अर्ब ७ करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको कुल चालु सम्पत्ति ७४ करोड ८९ लाख रुपैयाँ छ भने कुल चालु दायित्व १ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७७ पैसा बढेर १४ रुपैयाँ ३ पैसा पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ ५८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.६२ गुणा रहेको छ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार १०:१५