७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

नेपाल बैंकको आकर्षक उपहार, खल्तीमार्फत कारोबार गर्दा नगद जित्ने मौका

६ माघ, काठमाडौँ । नेपाल बैंक लिमिटेडले डिजिटल बैंकिङ कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘लिङ्क, लोड तथा विदड्र – पुरस्कार जित्ने अवसर’ नामक अभियान सञ्चालनमा ल्याएको छ ।

नेपाल बैंक लिमिटेड र खल्ती डिजिटल वालेटको सहकार्यमा सञ्चालनमा आएको उक्त अभियान बैंकको ब्राण्ड प्रवर्द्धन तथा डिजिटल बैंकिङ सेवाको विस्तारलाई लक्षित गरिएको बैंकले जनाएको छ ।

माघ र फागुन महिनाभर सञ्चालन हुने यस अभियानमा नेपाल बैंकका कर्मचारी तथा बैंकमा खाता रहेका ग्राहकहरू सहभागी हुन सक्नेछन् । अभियान अवधिभर नेपाल बैंकको खाता खल्ती वालेटसँग लिङ्क गरी कारोबार गर्ने ग्राहक तथा कर्मचारीहरूमध्ये हरेक हप्ता एक जना भाग्यशालीलाई चलचित्र टिकट वा खल्ती प्रो सदस्यता पुरस्कार प्रदान गरिनेछ।

त्यसैगरी, अभियान अवधिभर भएको कुल कारोबारको आधारमा एक जना सहभागीलाई नगद १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ । पुरस्कारको घोषणा अभियान समाप्त भएपछि गरिनेछ ।

अभियानमा सहभागी हुन इच्छुक व्यक्तिले खल्ती वालेटमा दर्ता भई आफ्नो परिचय विवरण अद्यावधिक गरेको हुनुपर्नेछ। साथै, नेपाल बैंकको खाता खल्ती वालेटमा लिङ्क गरी उक्त खातामार्फत कारोबार गरेको हुनुपर्ने सर्त तोकिएको छ।

यस सम्बन्धमा थप जानकारी लिन नजिकैको नेपाल बैंकको शाखा कार्यालय वा बैंकको कल केन्द्रको फोन नम्बर ०१–५९७१२२२ मा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ । उक्त अभियानले ग्राहकहरूलाई डिजिटल बैंकिङ सेवातर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति : January 20, 2026 at 2:44 pm