३० कार्तिक २०८२, आईतवार | Sun Nov 16 2025

रेमिट्यान्सको सीमा बढ्यो, अब दैनिक २५ लाख ल्याउन पाउने

२४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स रकमको सीमा बढाएको छ।  नेपाल राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै  विदेशबाट नेपाल भित्र्याउन पाउने रेमिट्यान्सको सीमा बढाएको हो । केन्द्रीय बैंकले फिर्ता नगर्ने गरी आउने २० लाख रेमिट्यान्सको सीमा २५ लाख रुपैयाँ पुर्याएको हो ।

केन्द्रीय बैंकका अनुसार नेपाली/विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म/कम्पनीले सम्पत्ति बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेशबाट पठाएको रकम विप्रेषण कम्पनीमार्फत खातामा जम्मा गर्ने गरी दैनिक २५ लाखसम्म ल्याउन सकिन्छ ।  यसअघि यस्तो सीमा २० लाख रुपैयाँ थियो।

यसरी विप्रेषण कम्पनीहरूले रकम संकलन र भुक्तानी गर्दा प्रचलित व्यवस्थाबमोजिम ग्राहक पहिचानका कागजात लिएको हुनु पर्ने केन्द्रीय बैंकले जनाएको छ ।

यसरी आएको रेमिट्यान्स प्रत्येक महिना समाप्त भएको सात दिनभित्र विभाग, सम्बन्धित सुपरीवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा जानकारी गराउनु पर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार १३:०८