२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

सुशीला कार्कीलाई समर्थन गर्दै बालेनले भनेः संसद् विघटन गरेर अन्तरिम सरकार बनाऔँ

२५ भदाै, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति रामचन्द्र पौडेलाई अन्तरिम सरकार गठन गर्न र संसद विघटन गर्न सुझाव दिएका छन् ।

जेनजीले ल्याएको क्रान्तिलाई संरक्षण गर्न अविलम्ब अन्तरिम सरकार गठन र संसद्को विघटनको सुझाव दिएका हुन् । ‘देश अन्तरिम सरकारमा जाँदै छ, जसले देशमा नयाँ चुनाव गराउनेछ। यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने,देशलाई नयाँ जनादेश दिने हो ’ उनले लेखेका छन् ।

अन्तरिम र चुनावी सरकारको नेतृत्व गर्नका पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीप्रति समर्थन समेत उनले जनाएका छन् । अहिले नेतृत्वमा आउन चाहेकाहरुलाई पनि उनले धैर्यता गर्न आग्रह गरेका छन् ।

‘तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन। त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार ००:०३