मलाई नेतृत्वको मोह छैनः दुर्गा प्रसाई
२५ भदौ, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफूलाई नेतृत्वको कुनै मोह नरहेको बताउनुभएको छ । प्रधानसेनापतिसँग भावी सरकारको नेतृत्वको विषयमा कुरा गर्न सैनिक मुख्यालय जंगीअड्डा पुग्नुभएको प्रसाईले सामाजिक सञ्जाल मार्फत प्रधानसेनापतिसँगको तस्बिर सार्वजनिक यस्तो उल्लेख गर्नुभएको हो ।

उहाँले दिनुभएको जानकारी यस्तो छ
आज दिनभर प्रधानसेनापति असोकराज सिग्देलज्यूसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भयो।
यस लामो छलफलपछिको मेरो निष्कर्ष स्पष्ट छ—
“मलाई नेतृत्वको मोह छैन।”
देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो।
जेन-जी पुस्ताको आवाजलाई सम्मान गर्दै म बालेनजी वा शुशिला कार्कीजी, जोसुकै तयार छन्, उनीहरूको नेतृत्व स्वीकार्न तयार छु।
तर, कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर भाग्नु मेरो स्वभाव होइन।
म जुनसुकै परिस्थितिको लागि पनि तयार छु।
आजको बिषम घडीमा म सस्तो राजनीति र टिकाटिप्पणीमा लाग्दिनँ।
अब चाहिएको कुरा हो— गम्भीरता, राष्ट्रिय एकता र रचनात्मक बाटोको खोज।
सहज निकासका लागि सबैको साथ र सुझाव अपरिहार्य छ।
यो हाम्रो पुस्ताको मात्र होइन, सम्पूर्ण राष्ट्रको भविष्यको प्रश्न हो।
अब समय आएको छ— भावनाभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा पर सोचेर,
देशलाई बाँच्ने बाटो देखाउने हाम्रो साझा जिम्मेवारी पूरा गर्न।
प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार १९:१९








