एमालेजनमा योगेशको अपिलः नेपाल बचाऔँ, नेपालीत्व जोगाऔँ
२५ भदौ, काठमाडौँ । नेकपा एमालेका सचिव एवं पूर्व मन्त्री योगेश भट्टराईले आगामी पाँच वर्ष निर्विकल्प केपी ओली भन्ने आफ्नो नारा छाडेर १० बुँदे विकल्प अघि सार्नुभएको छ । फेसबुक मार्फत उहाँले कमरेडहरूको नाममा १० बुँदाको विकल्प सहित नेपाल बचाऔँ, नेपालीत्व जोगाऔँ भन्ने अपिल गर्नुभएको छ ।
उहाँले प्रस्तुत गरेको विकल्प एमालेकै लागि रहेको देखिन्छ । पछिल्लो राजनीतिक घटनाक्रमपछि धेरै एमालेका नेता कार्यकर्ताले पार्टी छाडेपछि उहाँले यस्तो प्रस्ताव गर्नुभएको हो । उहाँले १० बुँदामा प्रस्तुत गर्नुभएको विकल्प यस्तो छ ।
प्रिय कमरेडहरू
हामी यतिवेला इतिहासकै गंभीर संकटको अवस्थामा छौ । देश र समाज भयानक अस्थिरतामा छ । हामीसबै तनावमा छौ । यस्तो अवस्थामा उत्तेजनामा आएर गरिने निर्णयले हामीलाई सहि ठाऊँमा पुर्याउडैन । तसर्थ:
1. विकसित घटनाहरूलाई राम्रोसित बिश्लेसन गरौ हामीबाट भएका कमजोरीको समिक्षा गरौ । ग़ल्तीप्रति आत्मालोचित होऔ ।
2. पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरौ । यो काम होशियारी पूर्वक गरौ । जसले हाम्रो पार्टी एकता कायम गरोस ।
3. पार्टीमा आम सदस्यहरूको अपनत्व र सहभागीता सुनिश्चित गरौ ।
4. पार्टीका आन्तरिका प्रक्रियाहरूलाई पूर्णत: पारदर्शी र लोकतान्त्रिक बनाऔ ।
5. जनतामा जाऔ, जनतालाई सुनौ र त्यस अनुसार निर्णय गरौ ।
6. लोकतन्त्र, बहुदलीय प्रतिस्पर्धा, मानवअधिकार, प्रेस स्वतन्त्रता, संविधानको सर्वोच्चता, कानूनको शासन यो जवजको आत्मा हो, यसबाट दाँया/ बाँया नजाऔ ।
7. खरानीबाट उठेर देशको पुनर्निर्माण गर्नु छ । नेपालको हित चिताउने सबैसंगको समन्वयबाट यो काम संपन्न गर्ने अठोट गरौ ।
8. हिमाल, पहाड़, तराई, सबै जात, जाति र भाषा, भाषीबिचको एकतालाई बलियो बनाऔ ।
9. देशभित्रको आन्तरिक सहमति अनी संवैधानिक तथा लोकतान्त्रिक मूल्य, मान्यता अनुरूप निकास दिनु पर्दछ । बिश्व समुदायले नेपालीहरूको उक्त प्रयत्नलाई सहयोग गर्नु पर्दछ । यही आधारमा अंतर्राष्ट्रीय समुदायलाई आह्वान गरौ ।
10. ZEN G समूहले अघि सारेका भ्रष्टाचार र बेथिती अन्त्य गर्ने मागलाई समर्थन र कार्यान्वयनमा सहयोग गरौ ।
नेपाल बचाऔ
नेपालीत्व जोगाऔ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार १३:०६








