२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

पूर्वराष्ट्रपति भण्डारीद्वारा जेनजीको आन्दोलनमाथि सरकारले गरेको दमनप्रति गम्भीर ध्यानाकर्षण, मृतकप्रति श्रद्धाञ्जली

२४ भदौ, काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खारेजी, भ्रष्टाचारविरोधी माग र सुशासनका लागि जेनजी पुस्ताले थालेको आन्दोलनमाथि सरकारले गरेको दमनप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन्।

उनले आज जारी गरेको प्रेस विज्ञप्तिमा प्रहरीको गोली लागी मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्। साथै, मृतक परिवार, आफन्त र आन्दोलनरत युवाप्रति समवेदना व्यक्त गर्दै भण्डारीले लोकतान्त्रिक अधिकार प्रयोग गर्न पुगेका युवामाथि भएको गोली प्रहारलाई अस्वीकार्य बताएकी छन्।

भण्डारीले शान्तिपूर्ण प्रदर्शनलाई दमन गर्नु संविधान र जनताको मौलिक अधिकारमाथि प्रहार भएको टिप्पणी गर्दै अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार, लोकतन्त्र र सुशासनप्रतिको प्रतिबद्धतामा सरकार संवेदनशील बन्नुपर्नेमा जोड दिएकी छन्।

“देश, समाज, लोकतन्त्र र भविष्यको हितका लागि युवापुस्ताले आत्मसात गरेका मूल्य–मान्यतामाथि दमन गर्नु गम्भीर गल्ती हो,” विज्ञप्तिमा भनिएको छ। उनले वर्तमान घटनाले उत्पन्न गरेको स्थितिले देशलाई थप अस्थिर बनाउने चेतावनी दिएकी छन्।

पूर्वराष्ट्रपति भण्डारीले सरकारले तत्काल घटनाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने र घाइतेहरूको उचित उपचारको व्यवस्था मिलाउन आग्रह गरेकी छन्। साथै, लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढ रहि युवापुस्ताको विश्वास जित्न सरकार सचेत हुनुपर्नेमा जोड दिएकी छन्।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १२:००