१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

नेपालमा बिचौलिया पुँजीवाद हाबी भयोः वर्षमान पुन

२२ भदौ, बागलुङ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उप–महासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपालमा पुँजीवादी समाजवादको सट्टा बिचौलिया पुँजीवाद हाबी भएको बताउनुभएको छ ।

नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन बागलुङको आयोजनामा आज यहाँ भएको ‘नेपाली विशेषताको समाजवाद र वैकल्पिक अर्थतन्त्र’ विषयक विचार गोष्ठीमा उहाँले समाजवादी अर्थतन्त्र हाम्रो लक्ष्य भए पनि बिचौलिया अर्थतन्त्रमा पुगिएको बताउनुभयो ।

नेता पुनले खुला प्रतिस्पर्धात्मक अर्थ व्यवस्थामा एकाधिकार बढेपछि नियामक निकायको जन्म र अर्थतन्त्रमा दलाल प्रवृत्ति हाबी भएको बताउनुभयो । “बिचौलियाले नै पार्टी खोलेर देश चलाउने अडान लिन थालेका छन्, उनीहरू सरकार बनाउँछौँ, प्रधानमन्त्री बनेर देश चलाउँछौँ भनिरहेका छन्”, उहाँले भन्नुभयो, “उदारवाद अर्थतन्त्रपछि पुँजीवादी अर्थतन्त्र हुँदै बिचौलिया पुँजीवादी आएको छ, हामीले चाहेको पुँजीवादी समाजवाद हो ।”

नेता पुनले यो सबै अवस्थालाई ध्यानमा राखेर परिवर्तनकारी राजनीतिक शक्तिले आफूलाई परिमार्जन गर्दै अगाडि बढ्नुको विकल्प नरहेको धारणा राख्नुभयो ।

प्रकाशित मिति : September 7, 2025 at 5:46 pm