स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत राखेर कमिसन कुम्ल्याउने युगको अन्त्य
१३ भदौ, काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले स्थानीय सरकारहरू निमित्तबिहीन भएको घोषणा गर्नुभएको छ । सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाएपछि मन्त्री न्यौपानेले यस्तो घोषणा गर्नुभएको हो । वर्षौदेखि फरक फरक स्थानीय तहहरू लामो समयसम्म निमित्तको भरमा चल्दै आएका थिए ।
स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत राखेर कमिसन कुम्ल्याउ सहज हुने भएपछि जनप्रतिनिधिले निमित्तमा जोड गर्दै आएका थिए । मन्त्रालय पठाउने प्रमुख प्रशासकीय अधिकृतसँग सेटिङ नमिल्ने भएपछि चिनजानका अधिकृतलाई निमित्त दिलाएर जनप्रतिनिधिले आफ्नो स्वार्थ पूरा गर्दै आएका थिए । अब भने त्यो युगको अन्त्य भएको छ । विगतमा पनि मन्त्रीहरूले स्थानीय तह निमित्त बिहीन बनाउने भाषण पटक पटक गरेकै थिए तर मन्त्री न्यौपाने जिम्मेवार भएर प्रस्तुत हुँदा यसमा सफलता नै प्राप्त गर्नुभएको छ ।

स्थानीय सरकारहरू निमित्तबिहीन बनाउन सफल भएपछि बिहीबार राति न्याैपानेले सामाजिक सञ्जाल मार्फत यसको जानकारी दिनुभएको छ । उहाँले भन्नुभएको छ, ‘आजबाट नगर र गाउँपालिकामा निमित्त अन्त्य … सुशासनको मुख्य औजार कर्मचारी प्रशासन हो, यसलाई निरन्तर सुधार र परिमार्जन गर्नुपर्छ । यो काममा म निरन्तर लागिरहेकी छु । यस क्रममा मैले घोषणा गरेकी थिएँ, स्थानीय तह निमित्त कार्यलय प्रमुखका भरमा चलाउने प्रवृत्ति अन्त्य गर्छु । देश र जनतालाई केन्द्रमा राखेर मैले यो निर्णय गर्नैपर्ने थियो । मैले कार्यभार समाल्दा देशभरीका ७५३ मध्ये २०० पालिका निमित्तका भरमा चलिरहेका थिए ।’
दुई सय स्थानीय तह निमित्तको भरमा चलिरहेको जानकारी दिँदै मन्त्री न्याैपानेले अघि भन्नुभएको छ, ‘आजबाट देशभरीका गाउँपालिका र नगरपालिकालाई निमित्त विहिन बनाइएको जानकारी गर्दछु । कर्मचारी मित्रहरुलाई आजबाट गाउँपालिका र नगरपालिकाहरुका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । जिम्मेवारी पाउने कर्मचारी मित्रहरुलाई हार्दिक बधाई दिन्छु । वास्तवमा पालिकाका प्रमुख तथा जनप्रधिनिधिहरुले नै हामीलाई निमित्त होइन, पूर्ण जिम्मेवारीको प्रमुख प्रशासकीय अधिकृत दिनुपर्यो भनेर माग गर्नुपर्ने हो । कैयन प्रमुखहरुले माग गर्नुभएको पनि छ । अभियानमा खट्नुहुने मन्त्रालयका सचीव सहित सम्पूर्ण टीम, र सचिवालयका सबि साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
अब उहाँले महानगर र उपमहानगर पनि निमित्तबिहीन हुने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘जिम्मेवारीमा खटिनुभएका कर्मचारी मित्रहरुलाई आफ्नो जिम्मेवारी उच्च दक्षता र इमानदारीसाथ निर्वाह गर्न आग्रह गर्दछु । त्यसैगरी पालिका प्रमुख तथा जनप्रतिनिधि मित्रहरुलाई पनि जिम्मेवारी लिएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्न, उहाँहरुको क्षमताको भरमग्दुर उपयोग गर्न आग्रह गर्दछु । अब अर्काे चरणमा उपमहानगर तथा महानगरपालिकाहरुलाई निमित्त विहिन बनाइने जानकारी गराउँछु । आम जनताको हितमा राखेर यो निर्णय गरिएको छ । यस्तो काममा सबैको साथ, सहयोग र सुझावको अपेक्षा गर्दछु ।’
प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार ०७:४५












