७ जेष्ठ २०८३, बिहिबार | Thu May 21 2026

मुक्तिनाथ विकास बैंकको धुम्बाराही शाखा उद्घाटन

११ भदाै, काठमाडाैं । मुक्तिनाथ विकास बैंकको काठमाण्डौ महानगरपालिका–४,धुम्बाराही (चिलिमे टावरमा रहेको)स्थित शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलद्वारा सम्पन्न भएको छ ।

वित्तीय सेवाहरुको विविधिकरण गरी नेपाली वित्तीय बजारमा अलग्गै पहिचान बनाएको, मुक्तिनाथ विकास बैंकले जमलमा रहेको शाखा कार्यालयलाई नयाँ स्थान, काठमाण्डौ महानगरपालिका वडा नं.– ४ मा रहेको चिलिमे टावरमा स्थानान्तरण गरी औपचारिक रुपमा वित्तीय सेवाको शुभारम्भ गरेको छ ।

उक्त नयाँ शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले गरेका थिए । उद्घाटन कार्यक्रममा आफ्नो मन्तब्य राख्दै पौडेलले बैंकले कृषि क्षेत्रमा गरेको लगानी र डिजिटल बैंकिङ सेवाको विस्तारको प्रशंसा गर्दै जोखिम व्यवस्थापनमा पनि त्यत्तिकै चनाखो हुन सुझाव दिए ।

साथै, बैंकले हाल गरी रहेकै प्रगतिलाई निरन्तरता दिदै यो शाखाबाट पनि उत्कृष्ट सेवा प्रदान गर्न शुभकामना व्यक्त गरे । उक्त समारोहमा बैंकका सञ्चालक उमेश आचार्यले स्वागत, प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको अवस्था र आगामी योजना तथा निवर्तमान अध्यक्ष तथा संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले नेपालको अर्थतन्त्र तथा वित्तीय क्षेत्रको सबलीकरणको लागि बैंक तथा नियामक निकायले अख्तियार गर्नु पर्ने रणनीतिहरुको बारेमा मन्तब्य राखेका थिए ।

कार्यक्रमको सभापतित्व बैंकको सञ्चालक समितिको अध्यक्ष खिम प्रकाश मल्लले गरेका थिए । समापन तथा धन्यवाद मन्तब्य राख्दै मल्लले बैंकको सेवाको गुणस्तरमा अझै सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे । नयाँ र आधुनिक भवनबाट पूर्ण वित्तीय सेवा प्रदान गर्न पाउँदा सेवाग्राहीहरुले उत्कृष्ट ग्राहक सेवाको महशुस गर्नु हुने विश्वास बैंकले लिएको छ ।

एक विशेष समारोहको आयोजना गरी गरिएको उक्त कार्यक्रममा बैंकको वर्तमान तथा पूर्व सञ्चालकहरु, संस्थापक तथा सर्वसाधारण सेयरधनीहरु,विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु,ग्राहक तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो ।

सेवाग्राहीहरुको आवश्यकतालाई मध्यनजर गरी सञ्चालनमा ल्याइएको उक्त नयाँ कार्यालय रिङ्गरोडसँग जोडिएको र पर्याप्त पार्किङ्ग सुविधा रहेकोले सबैको पहूँचमा सहजता हुने बैंकले जनाएको छ ।

प्रकाशित मिति : August 27, 2025 at 3:54 pm