२२ बैशाख २०८३, मंगलबार | Tue May 5 2026

म एमालेको कार्यकर्ता नै हुँ, गुट चलाउन आउँदैनः पूर्वराष्ट्रपति भण्डारी

२ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमालेकै कार्यकर्ता भएको भन्दै यस विषयमा धेरै छलफल गर्नु आवश्यक नरहेको बताउनुभएको छ । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भण्डारीले यस्तो बताउनुभएको हो ।

आफ्नो ४५ वर्ष लामो एमालेसँगको आबद्धता स्मरण गर्दै उहाँले पार्टीको हितका लागि काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,  ‘म नेकपा एमाले नै हो। म एमाले नै भएर राष्ट्रपतिमा निर्वाचित भएको हो। ‘म नेकपा एमालेकै कार्यकर्ता हुँ । यस विषयमा धेरै छलफल गर्नु आवश्यक छैन ।’

पूर्वराष्ट्रपति भण्डारीले राजतन्त्र र गणतन्त्रबीचको भिन्नता केलाउँदै राष्ट्रपतिको पद आवधिक हुने र कार्यकाल सकिएपछि जुनसुकै नागरिक पनि आफ्नो सामाजिक वा राजनीतिक जीवनमा फर्कन सक्ने बताउनुभयो । पूर्वराष्ट्रपति भण्डारीले पार्टीले कुनै भूमिका नदिए पनि आफू एमालेको संगठित सदस्य भएको बताउनुभयो । ‘४५ वर्ष भयो नेकपा एमालेको संगठित सदस्य भएको, विराटनगरमै मैले शपथ खाएको हुँ,’ उहाँले भन्नुभयो ।

भण्डारीले आफू आलोचनाभन्दा मुक्त नरहेको र कोही पनि आलोचनाभन्दा मुक्त नहुने बताउनुभयाे। ‘म पनि आलोचनाभन्दा मुक्त छैन र कोही पनि छैन,’ उहाँले भन्नुभयाे। साथै, उहाँले आफूलाई गुट चलाउन नआउने बताउनुभएकाे छ ।

प्रकाशित मिति : 14:05