२२ बैशाख २०८३, मंगलबार | Wed May 6 2026

एमाले विधान महाधिवेशन व्यवस्थापन लागि जिम्मेवारी बाँडफाँट

१५ साउन, काठमाडौँ । नेकपा एमालेले भदौ २० देखि २२ गतेसम्म हुने पार्टीको विधान महाधिवेशन व्यवस्थापनका लागि जिम्मेवारी बाँडफाँट गरेको छ। बुधबार महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको सचिवालय बैठकले महाधिवेशनको व्यवस्थापनका लागि जिम्मेवारी तोकेको हो।

बैठकले महाधिवेशनका प्रतिनिधिको संख्या एकिन गर्ने जिम्मेवारी संगठन विभागलाई दिएको एमाले केन्द्रीय कार्यालयका प्रमुख भीष्म अधिकारीले जानकारी दिनुभयो । यस्तै स्वास्थ्य क्षेत्रको जिम्मा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ भने स्वयंसेवक परिचालनको जिम्मेवारी पार्टीको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाललाई दिइएको छ ।

यस्तै, सचिवालय र खाना व्यवस्थापन गर्ने जिम्मेवारी केन्द्रीय कार्यालय प्रमुख अधिकारीलाई दिइएको छ भने यातायात तथा मञ्च व्यवस्थापनको जिम्मा केन्द्रीय सदस्य विनोद श्रेष्ठले पाएका छन्। महाधिवेशनको प्रचार गर्ने जिम्मा एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम तथा स्वागत नृत्यसहित विविध सांस्कृतिक कार्यक्रमको जिम्मेवारी केन्द्रीय सदस्य हेमराज राईलाई दिइएको छ ।

आवासको व्यवस्थापन गर्न नसक्ने प्रतिनिधिका सम्बन्धित जिल्ला वा प्रदेशका सम्पर्क समन्वय कमिटीले व्यवस्थापन गर्नुपर्ने एमालेले जनाएको छ। यसका लागि सो विभागका इन्चार्ज लालबाबु पण्डितलाई जिम्मेवारी दिइएको छ। एमालेको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुनेछ। महाधिवेशनमा २ हजार २७९ प्रतिनिधि सहभागी हुने अनुमान छ।

प्रकाशित मिति : 11:30