गोरखाको मनास्लु क्षेत्रमा निरन्तर सुख्खा पहिरो, सेराङ गुम्बाका ४ सय जना प्रभावित हुने जोखिम
१९ कात्तिक, काठमाडाैँ । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा निरन्तर सुख्खा पहिरो झरिरहेको छ। चुमनुब्री गाउँपालिका–५ स्थित क्य्राकको बुम्राङमा मंगलबार बिहानदेखि ठूलो सुख्खा पहिरो झरिरहेको हो।
वडाध्यक्ष काल्देन छेवाङ लामाका अनुसार क्य्राकबाट सेराङ गुम्बा जाने बाटोमा पर्ने बुम्राङमा साकिमा डाँडाबाट सेराङ खोलासम्म करिब तीन सय मिटर लामो पहिरो झरिरहेको छ।
पहिरो झर्दा आगो फुकेको जस्तो सेतो धुवाँ उड्ने गरेको स्थानीयले बताएका छन्। मंगलबार बिहान करिब ११ बजे ठूलो आवाजसहित धुवाँ उडाउँदै पहिरो झरेको थियो। दिउँसो वडाध्यक्ष लामासहितको टोलीले घटनास्थल पुगेर अवलोकन गरेको थियो। तर, राति पुनः पहिरो झरेपछि अहिले पनि निरन्तर पहिरो खसिरहेको र घटनास्थलसम्म पुग्नसमेत कठिन भएको वडाध्यक्ष लामाले बताए।

पहिरोका कारण सेराङ गुम्बामा रहेका करिब चार सय जनालाई खाद्यान्नलगायत अत्यावश्यक सामग्री पुर्याउन समस्या हुने देखिएको छ। गुम्बामा करिब दुई सय लामा विद्यार्थी, गुरुहरू र वृद्धाश्रममा रहेका गरी थप दुई सय जना बस्दै आएका छन्।
यस क्षेत्रमा पछिल्लो समय सुख्खा पहिरो र हिमपहिरोका घटना बढ्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन्। वडाध्यक्ष लामाले हिमाली क्षेत्रमा अस्वाभाविक रूपमा पहिरो झर्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
यसअघि गत असोज २५ गते सेराङ हिमालको पूर्वी भागमा हिमपहिरो खस्दा उङ्गिलुङ खोला थुनिएको थियो। खोला थुनिएपछि बूढीगण्डकीमा विनाशकारी बाढी आएको थियो। पछिल्लो सुख्खा पहिरोले पनि थप जोखिम निम्त्याउन सक्ने भन्दै स्थानीय त्रसित छन्।
प्रकाशित मिति : November 4, 2026 at 12:33 pm










