११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

‘सुम्निमा’ मा अडिसनबाट चयन भए अनिकेत पाख्रिन लामा

१२ साउन, काठमाडौं । निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने प्रेमकथानक चलचित्र ‘सुम्निमा’ मा नव अभिनेता अनिकेत पाख्रिन लामा अनुबन्धित भएका छन्। भारतीय रियालिटी शो स्प्लिट्सभिल्लाका प्रतियोगीका रूपमा परिचित अनिकेतलाई अडिसनमार्फत चलचित्रका लागि चयन गरिएको निर्देशक चाम्सले जानकारी दिए। स्प्लिट्सभिल्लाको १४औं सिजनमा अनिकेत उत्कृस्ट आठमा पर्न सफल बनेका थिए।

नयाँ अनुहार भए पनि अनिकेतको आत्मविश्वास, व्यक्तित्व र क्यामेरा अघि प्रस्तुत हुने शैलीले निर्माण टिमलाई आकर्षित गरेको निर्देशकको भनाइ छ। चलचित्र ‘सुम्निमा’ मार्फत अनिकेत पाख्रिन लामा नेपाली फिल्म उद्योगमा डेब्यू गर्दैछन्।

गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको सह-निर्माणमा बन्ने चलचित्र ‘सुम्निमा’ विशुद्ध प्रेमकथामा आधारित हुनेछ। यद्यपि नामले नारीप्रधान जस्तो लागे पनि, कथा भने प्रेम, द्वन्द्व र सांस्कृतिक पृष्ठभूमिमा केन्द्रित रहने निर्देशक चाम्स बताउँछन्।

यसअघि अभिनेत्री उपासना सिंह ठकुरी, अभिनेता कुन्साङ बमजन र अनुप बिक्रम शाही चलचित्रमा अनुबन्धित भइसकेका छन्। अन्य कलाकार तथा प्राविधिक टिमको चयनको प्रक्रिया जारी रहेको छ।

चलचित्रको लेखन राजीव थापाले गरेका हुन् भने छायांकन आउँदो अगस्टदेखि लन्डन र नेपालमा सुरु हुने तयारी छ। निर्देशक चाम्सको पछिल्लो बायोपिक फिल्म ‘अञ्जिला’ ले बक्स अफिसमा उत्कृष्ट सफलता हासिल गर्दै नेपाली बायोपिक विधामा नयाँ कीर्तिमान बनाएको थियो।त्यसैले ‘सुम्निमा’ लाई पनि अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी निर्माण गर्न लागिएको चाम्सको भनाइ छ।

प्रकाशित मिति : July 28, 2025 at 2:37 pm