२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

नीता ढुङ्गानाको ‘सुख दु स् ख’मा मिथिला शर्मा अनुबन्धित

१२ साउन, काठमाडौं । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले निर्देशन गर्ने फिल्म ‘सुख दुःख’मा मिथिला शर्मा अनुबन्ध भएकी छन्। उनलाई निर्देशक तथा निर्मात्री समेत रहेकी अधिकारीले फिल्मका लागि अनुबन्ध गरेकी हुन्। आइतबार निर्माण पक्ष र अभिनेत्री शर्माबीच कागजी सम्झौता भएको हो।

अभिनेत्री शर्मालाई अनुबन्ध गर्दै नीताले भनिन्,‘ चलचित्र सुख दुःखमा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा धेरै नै उत्साहित छौ । सायद हजुरबिना यो चलचित्र अपुरो हुन्थ्यो। अब पूर्ण हुने बाटोमा जाँदैछ।’ यसअघि यो फिल्मका लागि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाल डिओपीका लागि अनुबन्ध भएका थिए। उनीहरु बाहेक यो फिल्मको मुख्य कलाकार को रहने हुन् निर्माण पक्षले खुलाएको छैन। नीताले मुख्य कलाकारको बारेमा केहि सातापछि जानकारी दिने बताइन्।

नीता ढुंगानाको डेब्यु निर्देशन रहने फिल्ममा फिल्मको निर्माण व्यवस्थापनको जिम्मा शंकर पाण्डेलाई दिइएको छ । निर्देशक ढुङ्गानाले अन्य कलाकारहरुको बारेमा जानकारी सार्वजनिक गरेकी छैनन्। ‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दसैंको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याउने योजना निर्माण पक्षको छ। यो फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ।

प्रकाशित मिति : July 28, 2025 at 1:20 pm