८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

सिङ्गापुर पठाइदिन्छु भनी ठगी गर्ने नुवाकोटका तामाङ पक्राउ

११ साउन, काठमाडौं । वैदेशिक रोजगारीको लागि सिङ्गापुर पठाइदिन्छु भनी ठगी गर्ने नुवाकोटका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट मेघाङ गाउपालि वडा नं.०२ घर भइ काठमाडौं टोखा नगरपालिका वडा नं.०८ बस्ने हेम बहादुर तामाङ रहेका छन् ।

उनले बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि सिङ्गापुर पठाइदिन्छु भनी दुई लाख सत्तरी हजार ठगी गरी लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान तथा कारवाहीको लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिनुभयो । साथै, सोही मुद्दामा अन्य दुई जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मैया देबी उप्रेती र ईश्वरी थापा रहेका छन् ।  उनीहरूले पनि वैदेशिक रोजगारीको लागि अमेरिका र माल्टा पठाइदिन्छु भनी ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : July 27, 2025 at 5:52 pm