७ असार २०८३, आइतबार | Mon Jun 22 2026

नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान महत्त्वपूर्ण छः अध्यक्ष नेपाल

७ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्रका रूपमा रहेको बताउनुभएको छ ।

अध्यक्ष नेपालले ४७औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन र नेपाली समाजको रूपान्तरणका लागि पुष्पलालले सुरु गरेको यात्रा अहिले विभिन्न प्रकारले विस्तारित भइरहेको बताउनुभयो । मुलुकमा निरङ्कुशताविरुद्धको सङ्घर्षमा जनतालाई सङ्गठित गर्न कम्युनिष्ट पार्टी स्थापनामा उहाँले निर्वाह गरेको भूमिका आज पनि उत्तिकै महत्त्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो ।

कम्युनिष्ट आन्दोलनको विकाससँगै क्रान्तिले एकपछि अर्को उपलब्धि हासिल गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यस अर्थमा हामी उहाँलाई कहिल्यै बिर्सन सक्दैनौँ ।” अध्यक्ष नेपालले पुष्पलालको सिङ्गो जीवनयात्रा, सैद्धान्तिक, वैचारिक रचना र कार्यक्रममा नेपाली जनताको मुक्ति र समाजिक विकासका लागि महत्त्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो । जीवनको अन्तिम घडीसम्म आफ्नो आस्थाप्रति अटल र अविचलित रही पुष्पलालले सङ्घर्षको यात्रामा अविराम क्रियाशील श्रेष्ठले नेपाली समाजको ऐतिहासिक भौतिकवादी ढङ्गले व्याख्या गरेर समाजमा विद्यमान वर्ग विश्लेषण, त्यसको विकासक्रम, वर्गीय अन्तरविरोधको पहिचान तथा समाधानका उपायहरूलाई माक्र्सवादी ढङ्गले व्याख्या गर्ने कामको अगुवाइ गरेको उहाँको विचार व्यक्त गर्नुभयो ।

कुशल सङ्गठक पुष्पलालले नेपाली समाजको वस्तुनिष्ठ विश्लेषण गर्दै निरूपण गरेको नेपाली क्रान्तिको सिद्धान्तमा आफ्नो पार्टी रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समृद्ध समाजवादी व्यवस्था कार्यान्वयनका लागि जोड दिनुभयो ।

प्रकाशित मिति : July 23, 2025 at 11:18 am