१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

पर्यटनलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता दिन नाट्टाको आग्रह


९ चैत, काठमाडौँ । नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टाले) सरकारलाई पर्यटनको विकासका लागि तत्काल र दीर्घकालीन रुपमा गर्नुपर्ने कामको सुझाव दिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीलाई तत्काल गर्नुपर्ने ११ र दीर्घकालीन रुपमा गर्नुपर्ने २३ कामको सूची बुझाएको छ ।

नाट्टा अध्यक्ष सिएन पाण्डे नेतृत्वको टिमले बिहीबार साँझ राज्यमन्त्री धनबहादुर बुढा, सचिव कृष्णप्रसाद देवकोटा र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीलाई एउटै मञ्चमा राखेर मन्त्री अधिकारीलाई सुझाव हस्तान्तरण गरेको हो । नाट्टाले पर्यटन क्षेत्रलाई तत्कालै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता दिन माग गरेको छ ।

अध्यक्ष पाण्डेले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हवाई ट्राफिकको चाप ज्यादै बढी भई अवतरणका लागि आएका हवाई जहाजहरु आकाशमै होल्ड गरि राख्नु पर्ने अवस्थारहेको जानकारी दिँदै तत्कालै यस्तो अवस्थाको अन्त्य गर्न आग्रह गरे ।

उनले काठमाण्डौंबाट लामो दुरीमा चल्ने पर्यटन नम्बर प्लेटका बसहरुको प्रस्थान र आगमन टर्मिनल नभएको हुंदा पर्यटन क्षेत्रले बारम्बार विभिन्न समस्याहरु झेल्नु परेको र पर्यटकहरुमा पनि मुलुकको छवि प्रति नकारात्मकता बढ्दै गएको अनुभव गरिएको भन्दै काठमाण्डौं लगायत देशका प्रमुख पर्यटकीय शहरहरुमा नेपाल सरकारद्वारा उपयुक्त स्थल चयन गरि टुरिस्ट बस टर्मिनलको अविलम्ब निर्माण गर्न माग गरे ।

अध्यक्ष पाण्डेले पर्यटन उद्योगलाई अत्यावश्यक सेवा संचालन ऐन अन्तर्गत राखि अन्य आकस्मिक सेवाहरु सरह सुविधा प्रदान गरि बन्द, हडताल र चक्का जामको स्थितिमा पनि पर्यटक बोकेका सवारीहरु निर्वाध रुपले संचालन गर्न/गराउन पाउने व्यवस्था कडाईका साथ लागू गर्न पनि माग गरे ।

सुझाव ग्रहण गर्दै मन्त्री अधिकारीले आफूले सबै सुझावलाई सकारात्मक रुपमा लिएको बताउँदै तत्काल गर्न सम्भव हुने काम केही दिनमै गर्न सुरु गर्ने बताए । उनले मन्त्रालयले सय दिन र एक वर्षको कार्यक्रम तयार गर्न लागेको जानकारी दिँदै ती कार्यक्रममा नाट्टाको मागसहितको सुझावलाई महत्वका साथ समेट्ने प्रतिवद्धता जनाए ।

मन्त्री अधिकारीले निजी क्षेत्रको सक्रियता बिना आर्थिक समृद्धि सम्भव नभएकाले व्यवसायमैत्री वातावरण तयार गर्न सरकार तयार रहेको बताउँदै सहयोग गर्न व्यवसायीलाई आग्रह गर्नुभयो । कार्यक्रमा नाट्टाका पूर्व अध्यक्षहरु र कार्यसमितिका सदस्यहरुले पयर्टन क्षेत्र बुझेको नेतृत्व पर्यटन मन्त्रालयले पाएको भन्दै अधिकारीको कार्यकालमा पर्यटन क्षेत्रले व्यापक फड्को मार्ने अपेक्षा गरेको बताए ।

नाट्टाले प्रस्तुत गरेको तत्कालीन र दीर्घकालीन सुझाव यहाँ क्लिक गर्नुहोस ।

 

 

प्रकाशित मिति : ९ चैत्र २०७४, शुक्रबार १२:१७

https://srdb.com.np/