एमाले नेताको हैसियतमा १० वर्षपछि पार्टी मुख्यालयमा विद्यादेवी भण्डारीको पाइला
४ साउन, काठमाडौँ । नेकपा एमालेको नेता विद्यादेवी भण्डारीले पार्टी नेताको हैसियतमा १० वर्षपछि पार्टी मुख्यालयमा पाइला राख्नुभएको छ । गत असार १४ गते जननेता स्वर्गीय मदनकुमार भण्डारीको जन्मजयन्तीको अवसरमा एमाले फर्किएको घोषणा गर्नुभएको उहाँले १० वर्षपछि एमालेको मुख्यालयमा पाइला राख्नुभएको हो ।

प्रधानमन्त्री समेत रहनुभएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवासमा भेट्न गरेको प्रस्ताव अस्वीकार गरेर पार्टी कार्यालय पुग्नुभएको भण्डारीले एमाले नेताको हैसियतमा पार्टी कार्यालयमा पुग्दा धेरै नेता र कार्यकर्ताहरू खुशी देखिएका थिए ।

यसअघि एमाले मुख्यालयमा नेता भण्डारी दुई पटक पुग्नुभएको थियो । उहाँ एक पटक संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको समयमा श्रद्धाञ्जली अर्पण गर्न जानुभएको थियो भने अर्को पटक पछि तुलसीलाल अमात्यको स्मृतिमा भएको कार्यक्रममा च्यासल पुग्नुभएको थियो । उहाँका यी दुबै उपस्थिति पूर्वराष्ट्रपतिको हैसियतामा रहेको थियो ।

भण्डारीले पार्टी मुख्यालयबाट बाहिरिने क्रममा एमालेमा आफ्नो सदस्यता नवीकरण भइसकेको कुरा दोहोर्याउनु भयो । एमाले अध्यक्ष ओली र महासचिव शंकर पोखरेलका केही द्धारपालहरूले सदस्यता नविकरण नहुने र पेन्डिङमा रहेको जस्तो गलत दाबी सार्वजनिक गरिरहेको समयमा भण्डारी स्वंयले आइतबार एमाले मुख्यालय च्यासलमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सदस्यता नवीकरण पुरानै कुरा भएको जानकारी दिनुभयो ।

एमाले मुख्यालयमा भण्डारी र ओलीबीच करिब दुई घण्टा कुराकानी भएको थियो । भण्डारीले ओलीसँग आइतबार राष्ट्रिय राजनीतिका विषयमा मात्र कुराकानी भएको बताउनुभयो । भण्डारीले २०८० मा पार्टीको सदस्यता नवीकरण गरेको बताए पनि पार्टीभित्र विवाद उत्पन्न गर्ने कोशिश भएको थियो । भण्डारीले एमालेको भावी अध्यक्षको रूपमा आफूलाई प्रस्तुत गरेपछि महासचिव शंकर पोखरेल निकटका केही नेताले गणतन्त्र संकटमा पर्ने भन्दै तनाव व्यक्त गर्दै आएका छन ।

प्रकाशित मिति : 20:48









