विद्या भण्डारीका लागि एमालेमा ‘च्याप्टरक्लोज’ भएको शंकर पोखरेलको संकेत
२ साउन, काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका लागि पार्टीमा ‘च्याप्टरक्लोज’ भएको संकेत गर्नुभएको छ । पार्टीको सचिवालय बैठकबाट विधान संशोधनका केही प्रस्ताव मतदान नै गरेर बहुमतले पारित गरेर सीधै पोलिटब्यूरोमा लैजाने निर्णयको सन्दर्भ उल्लेख गर्दै उहाँले सामाजिक सञ्जाल मार्फत यसको संकेत गर्नुभएको हो ।
सामान्यतय एमालेमा सचिवालय बैठकपछि स्थायी कमिटी, त्यसपछि पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक बस्ने प्रचलन छ । तर यसपटक स्थायी कमिटी बैठक नै नराखी एमालेले सिधै पोलिटब्यूरो बैठक बोलाएको छ । बहुमतले पारित उक्त प्रस्ताव शुक्रबारदेखि पोलिटब्यूरो बैठकमा छलफल हुनेछ ।
महासचिव पोखरेलले फेसबुकमा लेख्नुभएको छ, ‘विधि निर्माणको अन्योल अन्त्य भएको छ । मिसन ८४का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो । त्यो सुनिश्चित भएको छ ।’
पूर्व राष्ट्रपति भण्डारीले एमालेमा सक्रिय राजनीति गर्ने सार्वजनिक घोषणा गरेर सरकारी सुविधा फिर्ता गरेपछि सबैभन्दा बढी तनावमा देखिनुभएको महासचिव पोखरेलले ‘मिसन ८४का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो । त्यो सुनिश्चित भएको छ ।’ भनेर भण्डारीका लागि एमालेको ढोका बन्द गर्न भएको संकेत गर्नुभएको छ ।

एमालेको सदस्यता परित्याग गरेर राष्ट्रपति भएकाले अब भण्डारीले नविकरण नभइ नयाँ सदस्यता लिनुपर्ने र एघारौँ महाधिवेशनमा उहाँको अध्यक्षको उम्मेदवार हुन सदस्यताको योग्यता नपुग्ने भनेर महासचिव पोखरेलका कतिपय द्धारपालहरूले मिडिया मार्फत नै बताउन थालेका छन ।
अध्यक्ष केपी शर्मा ओलीले युट्युब प्लेटफर्मको एउटा च्यानल मार्फत भाण्डारीले नेतृत्व गर्न नसक्ने र पार्टीमा स्थान दिन नसकिने विषय सार्वजनिक गरिसक्नुभएको छ । प्रश्नकर्ताको आग्रह र विचारले भरिएको उक्त वार्तामा अध्यक्ष ओलीले आफू नै तेस्रो कार्यकालका लागि अध्यक्ष बन्ने घोषणा समेत गर्नुभएको छ ।
ओलीले यसअघि असार १४ को मदन जयन्तीको कार्यक्रममा जननेता मदनकुमार भण्डारीको चरित्र माथि प्रश्न उठाउँदै चार वटा श्रीमति रहेको भनेर आरोप लाग्ने गरेको भनेर आफैँले जीवनमा पहिलो पटक सार्वजनिक मञ्चबाटै आरोप लगाउनुभएको थियो । मदनको चरित्रमा प्रश्न उठाएर ओलीले आफू मदन भन्दा अग्लो बन्ने सपना बोकेर हिँडेको देखिन्छ । तर नाकावन्दीको समयमा नागरिकबाटै ‘राजनेता’को उपमा पाउनुभएको ओली सबैको ‘बा’ बन्ने सपना बोकेर ‘बा’ ब्राण्डिङको यात्रामा दुर्घटना परी अहिले ‘झोले’ ब्राण्डिङमा झुण्डिनुभएको छ ।
प्रकाशित मिति : 14:05









