२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन

१ साउन, काठमाडौँ । नेकपा एमालेले ७० वर्षको उमेर हद र दुई कार्यकालको सिमा हटाउने भएको  छ। पार्टिको आज बसेको सचिवालय बैठकमा सो विषयमा सहमति बनेको हो। आगामी भदौमा हुने विधान महाधिवेशनबाट संशोधन पारित भएमा यो व्यवस्था ११औँ महाधिवेशनबाट कार्यान्वयनमा आउनेछ।

यस्तै केन्द्रीय पदाधिकारीको संख्या १५ सदस्यीय बनाउन सहमती जुटेको छ। उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा ११ सदस्यीय पदाधिकारी प्रस्ताव गरे पनि छलफलका क्रममा १५ सदस्यीय बनाउन सहमति जुटेको हो ।

यसैगरी केन्द्रीय कमिटी २५१ सदस्यीय कायम गर्ने सहमति जुटेको छ ।

झण्डै १० घण्टा लामो सचिवालय बैठकमा अधिकांश नेताहरूले विधान संशोधन प्रस्तावमा आफ्नो धारणा राखेका थिए भने अन्त्यतिर अध्यक्ष केपी शर्मा ओलीले पनि प्रस्तावमाथि आफ्नो राय दिएका थिए।

एमाले बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीका विषयमा पनि छलफल भएको छ । यसबारे पछि निर्णय गरिने नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : 00:14