३० भदौ २०८३, मंगलबार | Tue Sep 15 2026

छुट्ला है ! हिम स्टार उर्जा कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२७ असार, काठमाडाैँ । हिम स्टार उर्जा कम्पनी लिमिटेडले असार २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात सर्वसाधारणका लागि निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत अर्थात ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १ लाख ८६ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ९३ हजार २५० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

अब भने कम्पनीले कर्मचारीहरुलाई १८ हजार ६५० कित्ता र सामूहिक लगानी कोषहरुका लागि ४६ हजार ६२५ कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको ७ लाख ७३ हजार ९७५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा असार २७ गते हुनेछ भने ढिलोमा साउन ६ गते हुनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : July 11, 2025 at 9:51 am