६ मंसिर २०८३, शनिबार | Sat Nov 21 2026

नेपालीलाई बन्धक बनाउने गिरोहमाथि कारबाहीको माग

https://www.muktinathbank.com.np/online/loan-application

१३ असार, सुदूरपश्चिम । भारतको उत्तराखण्डस्थित उदमसिंहनगरमा नेपालीहरुलाई अपहरण गरेर बन्धक बनाउने गिरोहमाथि कारबाही गर्न सुदूरपश्चिम प्रदेशसभाका सदस्यले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।  प्रदेशसभाको आज बैठक प्रारम्भ हुनासाथ सभामुखबाट समय लिएर प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद मानबहादुर धामीले रोजगारी दिने बहानामा रकम असुली गरी अपहरण गरेर बन्धक बनाइएका ५८ जना नेपालीको यही असार ११ गते कञ्चनपुरको गड्डाचौकी सीमानाकाबाट उद्धार गरिएको घटनालाई गम्भीर रुपमा लिन ध्यानाकर्षण गराउनुभयो ।

भारतस्थित नेपाली राजदूतावास, किङ्ग भारत, स्थानीय प्रशासन, शुभ अवसरग्राम नेपाल नामको संस्थाको संयुक्त पहलमा बन्धक बनाइएका नेपालीको उद्धार भएको जानकारीमा आएको धामीले बताउनुभयो । सत्तापक्ष नेकपा (एमाले)की जानकी ऐरबमले सुदूरपश्चिम प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न धनगढीमा आयोजित समारोहमा मर्यादाक्रम विपरीत प्रदेशसभा सदस्यलाई प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षभन्दा पछाडिको सिटमा आसनग्रहण गराएर प्रदेशसभा र सुदूरपश्चिम प्रदेशवासीमाथि नै अपमानित गर्ने काम भएको भन्दै सरकारको तत्काल जवाफ माग गर्नुभयो ।

आजको बैठकले सुदूरपश्चिम प्रदेशसभाको सचिव र सचिवालय व्यवस्थापनसम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।  उक्त विधेयकमाथि भएको दफावार छलफलमा प्रदेशसभाका सदस्य अक्कलबहादुर रावल, विक्रमसिंह धामी र चक्रबहादुर मल्लले भाग लिनुभएको थियो । बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले सुदूरपश्चिम प्रदेशसभाको सचिव र सचिवालय व्यवस्थापनसम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो ।

प्रकाशित मिति : June 27, 2025 at 5:54 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/