भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउ माओवादी केन्द्रको माग
८ असार, काठमाडौं। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सहमति अनुसार सरकारले भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्ने माग गर्नुभएकाे छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उहाँले भिजिट भिसा प्रकरणबारे अभिलम्ब छानबिन समिति गठन गर्न सरकारसमक्ष माग गर्नुभएकाे हाे ।
साथै, उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई बजेटले उपेक्षा गरेको भन्दै बालबालिकको शिक्षा, ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा तथा महिलाको अधिकार र सुरक्षाको सुनिश्चितताका लागि प्रयाप्त बजेट छुट्याउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले खेलकुद क्षेत्रलाई पनि बजेटले उपेक्षा गरेको भन्दै खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन हुन नसकेको उल्लेख गर्नुभयो । सांसद पाण्डेले योजना बैंकमार्फत तीन करोड मुनिका योजना नहुने भनिए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
प्रकाशित मिति : ८ असार २०८२, आईतवार १३:५८