३२ असार २०८२, बुधबार | Wed Jul 16 2025

नगर प्रहरी प्रमुख राजुनाथलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश दिएको हो।

आदेशमा भनिएको छ ‘महानगर प्रहरीको परिचालन, रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकार विपक्षी प्रमुख प्रशासकीय अधिकृतलाई रहेको र सो बमोजिमको आदेश र निर्देशन पालना गर्नु प्रत्येक महानगर प्रहरीको कर्तव्य हुने कानुनी व्यवस्था रहेको तथ्यलाई यी निवेदकले इन्कार गरेको देखिँदैन ।सोही परिप्रेक्ष्यमा सुविधा र सन्तुलनको दृष्टिकोणमा उल्लेखित जाँचबुझ समितिको काम कारबाही अघि बढाउन यी निवेदकलाई तत्काल निलम्बन गर्नु पर्ने सम्मको अवस्था देखिएन।’

प्रकाशित मिति : ४ असार २०८२, बुधबार १७:४९