२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

प्रतिनिधिहरूले दिएको विश्वास, माया र सम्मानलाई यत्तिकै मर्न दिनेछैनः प्रकाश पाैडेल

१ असार, काठमाडौँ । अनेरास्ववियुको २४ औँ महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेर सात मतान्तरमा पराजित प्रकाश पौडेलले प्रतिनिधिहरूले दिएको विश्वास, माया र सम्मानलाई यत्तिकै मर्न नदिने प्रण गर्नुभएको छ । आइतबार सामाजिक सञ्जाल मार्फत उहाँले भन्नुभएको छ, ‘म म्याग्दी जस्तो सानो, दुर्गम, हिमाली जिल्लाबाट आएको कार्यकर्ता हुँ, र मलाई तपाईंहरूबाट प्राप्त भएको विश्वास, माया, र सम्मानलाई म यत्तिकै मर्न दिनेछैन। म सधैं साथीहरूसँग सल्लाह–सुझावमा रहनेछु, आन्दोलनको मैदानमा अझ सशक्त रूपमा प्रस्तुत हुनेछु।’

पौडेलले महाधिवेशनमा मैदानमा उभिन सफल हुनुनै पहिलो विजय भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘हामी मैदानमा उभिन सफल भयौँ यही नै एक सचेत विद्यार्थीको पहिलो विजय हो।’

एमालेभित्र पार्टी अध्यक्षको नाम बेचेर दोस्रो तहका नेताहरूले विभिन्न नाममा गुटको उम्मेदवार बनाउने र फालनो आधिकारिक र फलानो पार्टी बिरोधी भन्दै रमिता देखाउन थालेपछि पार्टी उपमहासचिव विष्णु रिमालले आन्तरिक चुनावमा कोही पनि आधिकारिक नहुने भनेर फेसबुक मार्फत टिप्प्णी नै सार्वजनिक गर्नुपरेको थियो ।

पाैडेलले फेसबुक मार्फत गरेको टिप्प्णी यस्तो छ 

आदरणीय व्यक्तित्वहरू तथा प्यारा साथीहरू,
सर्वप्रथम, म यहाँहरू सबैप्रति धन्यवाद प्रकट गर्न चाहन्छु।
अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको सन्दर्भमा, म सबैलाई विनम्र अनुरोध गर्न चाहन्छु कि यो महाधिवेशनले धेरै साथीहरूलाई प्रतिस्पर्धा गर्ने वातावरण र अवसर दिएकोमा म पार्टीप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
चुनावको आन्तरिक वा बाह्य पक्षहरूबारे धेरै भन्नु भन्दा पनि म यति मात्र भन्न चाहन्छु — म एक अखिल कार्यकर्ता भएको नाताले, ‘हामी हुँदा पनि, नहुँदा पनि’ अखिल उत्कृष्ट हुनुपर्छ। त्यसका लागि हामी सबैको साझा भूमिका आवश्यक छ।
मलाई साथ दिनु हुने सबैप्रति म जीवनभर ऋणी रहनेछु।

म म्याग्दी जस्तो सानो, दुर्गम, हिमाली जिल्लाबाट आएको कार्यकर्ता हुँ, र मलाई तपाईंहरूबाट प्राप्त भएको विश्वास, माया, र सम्मानलाई म यत्तिकै मर्न दिनेछैन। म सधैं साथीहरूसँग सल्लाह–सुझावमा रहनेछु, आन्दोलनको मैदानमा अझ सशक्त रूपमा प्रस्तुत हुनेछु।

छिट्टै, म आफैंलाई थप पार्टी र समाजमा सक्रिय बनाउने केही कार्यक्रमहरू सार्वजनिक गर्ने तयारीमा छु। अनेरास्ववियुको यो कार्यकाल मेरा लागि विशेष ध्यान हुनेछ । मैले प्रस्तुत गरेको #akhil2.o अभियानलाई सबैको सुझाव र सल्लाहका साथ अगाडि बढाउने मेरो योजना छ म निर्वाचित साथीहरू लाई अनुरोध गर्ने छु समयले दिएको चुनौतीलाई बुझेर अघि बढ्नुहोला साथीहरू, म सधैं तपाईंहरूको साथमा रहनेछु।

म गुनासो गरेर समय बिताउने पक्षमा छैन। म मैदानमा उभिन चाहन्छु। त्यसैले मेरा कुनै पनि भनाइहरू कुनै नेता वा व्यक्तिलाई लक्षित हुने छैनन्। सबैलाई धन्यवाद मात्र छ। बलियो राष्ट्रिय शक्ति निर्माणको अभियानमा हामी सबै जुट्न आवश्यक छ।

२०६२ सालमा स्कुल कमिटीको अध्यक्ष हुँदै सुरु भएको मेरो अखिल यात्रा, आज २०८२ सालमा केन्द्रीय अध्यक्षको प्रतिस्पर्धासम्म आइपुगेको छ। यस अवधिमा मलाई अखिलको स्कुल, क्याम्पस, जिल्ला र प्रदेश तहको नेतृत्व गर्ने अवसर प्राप्त भयो, जसका लागि म अत्यन्त कृतज्ञ छु।

अन्त्यमा, कृपया कसैप्रति नकारात्मक टिप्पणी नगरिदिनुहोला।
मलाई अध्यक्षमण्डलले उपाध्यक्षको प्रस्ताव गरेको जानकारी प्राप्त भएको थियो। मैले अध्यक्षमा प्रतिस्पर्धा गर्न चाहन्छु भन्ने अनुरोध गरेपछि, उहाँहरूले त्यो अवसर दिनुभयो, जसको लागि म उहाँहरूप्रति सधैं ऋणी रहनेछु।
निर्वाचनमा अध्यक्षमण्डलमा रही साझा भूमिका खेल्नुभएका पूर्व नेताहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु।

देशभरबाट आउनुभएका प्रतिनिधि साथीहरू, पत्रकार साथीहरू, सुरक्षाकर्मी, स्वयंसेवक सबैप्रति पनि धन्यवाद व्यक्त गर्दछु। हार त्यतिबेला मात्र हुन्छ, जब हामी प्रस्तुत हुनै पाउँदैनौं। हामी मैदानमा उभिन सफल भयौँ यही नै एक सचेत विद्यार्थीको पहिलो विजय हो। जय अखिल ✊ जय विद्यार्थी आन्दोलन ✊

प्रकाशित मिति : 10:05