१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

मोरङमा विभिन्न पार्टीका ३७० जना माओवादी केन्द्रमा प्रवेश, प्रचण्डले गरे स्वागत

३१ जेठ, मोरङ । मोरङमा विभिन्न राजनीतिक दलहरू परित्याग गरी सन्देश घिमिरे, सुवास लामा, कर्म लिम्बुसहित ३७० जना नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । उनीहरूलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उर्लाबारीमा आयोजित एक कार्यक्रममा स्वागत गर्नुभयो ।

पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रप्रति जनविश्वास दिनप्रतिदिन बढिरहेको उल्लेख गर्नुभयो। पार्टीप्रति जनविश्वास बढेसँगै घेराबन्दी गर्न र बदनाम गर्ने उद्देश्यले पार्टीभित्र र बाहिरबाट निरन्तर षड्यन्त्र भइरहेको पनि उहाँले बताउनुभयो।

“हामीले सरकारमा रहेर सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा महत्वपूर्ण काम गरेका छौँ। राम्रो काम गर्दा गर्दै शडयन्त्र पूर्वक सरकारबाट बाहिरिनु परे पनि हामी हाम्रो अभियान लिएर जनताको घरघरमा पुग्यौं, उनीहरूसँग बसेर दुःख–सुख बाँड्यौं। यही कारणले माओवादी केन्द्रप्रति जनताको विश्वास झनै बलियो बन्दै गएको छ,” उहाँले भन्नुभयो।

पूर्वी नेपालका झापा र मोरङ जिल्लामा माओवादी केन्द्रले अघिल्लो स्थानीय चुनावमा उल्लेखनीय सफलता हासिल गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा पार्टीले अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले प्रतिक्रियावादी शक्तिहरू माओवादीको बढ्दो जनआधार देखेर आत्तिएको कारण षड्यन्त्रहरू भइरहेका बताउनुभयो।

नवप्रवेशी सदस्यहरूलाई पार्टीले उचित जिम्मेवारी प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले संगठनलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने बताउनुभयो ।

प्रकाशित मिति : June 14, 2025 at 3:47 pm