२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

चलचित्र ‘महाभोज’को बुकिङ खुला

२८ जेठ, काठमाडौं । शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘महाभोज’को अग्रिम टिकट बुकिङ खुला भएको छ । देशभरका मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन रहेका चलचित्र हलहरूले बुकिङ खुलाएका हुन् । यो चलचित्र दुई साता अघि नै रिलिज तय भएकोमा विभिन्न राजनीतिक तथा अन्य आन्दोलनहरूका कारण रिलिज सरेर जेठ ३० गते पुगेको थियो ।

चलचित्रले प्रारम्भिक चरणमा करिब २ सय शो प्राप्त गरेको वितरकहरूले बताएका छन् । यस चलचित्रको काठमाडौं, पोखरा र बुटवलमा प्रिभ्यु प्रिमियर भइसकेको छ । प्रिमियरबाट चलचित्रले व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । प्रिभ्यु शो हरूमा केही सहकारी पीडितहरूले पनि चलचित्र हेरेका छन् । उनीहरूले आफ्नो दबिन लागेको आवाजलाई यो चलचित्रले ठुलो स्वरमा बोलिदिएको प्रतिक्रिया दिएका छन् । उनीहरूले यो चलचित्र धेरै भन्दा धेरै दर्शकले हेरेर राज्यलाई थप दबाब दिनुपर्ने बताइरहेका छन् ।

विकास सुवेदीको लेखेको तथा दिनेश राउतले निर्देशन गरेको यस चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल लगायतको अभिनय रहेको छ । विशेष भूमिकामा सुरक्षा पन्त पनि रहेकी छन् । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले निर्माण गरेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।

प्रकाशित मिति : June 11, 2025 at 5:47 pm